खण्डहर भृकुटी कागज कारखाना
खिया लागेका टिनका छाना मक्किएर झरिरहेका छन् । फलामका संरचनाको हालत पनि उस्तै छ । पर्खालहरू भत्किएका छन् । अनि जतासुकै बढिरहेको झाडी कुरुप देखिन्छ । यो खण्डहर संरचना हो, नारायणी नदी किनार नजिकैको गैंडाकोटमा अवस्थित भृकुटी कागज कारखाना । यो उद्योग कारखाना र आवास क्षेत्रसमेत गरेर ५२ बिघामा फैलिएको छ ।
कुनैबेला कामदारहरुको भीड हुने, कागजको कच्चा पदार्थ ल्याएर आएका ट्रकको लस्कर देखिने र उत्पादित कागज बोकेर कारखानाबाट निस्केका गाडीको ताँती देखिने दृश्य यहाँ नदेखिएको १५ वर्ष भइसक्यो । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नवलपरासी बर्दघाट–सुस्तापूर्वको यो कारखाना अहिले खण्डहर बनेको छ ।
कारखानाका सबै संरचना जीर्ण देखिन्छन् । बाहिरबाट हेर्दा ठूला ठूला मेसिनका अस्थिपञ्चर मात्रै देखिन्छ । कुनै समय देशको गौरव भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर खोरियाघारी जस्तै बनेको छ । यही उद्योगबाट उत्पादन भएको कागज कुनै समय विदेशसम्म निर्यात हुन्थ्यो । अनि देशको कुल मागको झण्डै ६० प्रतिशत कागज यही उद्योगले पूरा गर्थ्यो । तर यो त सबै इतिहास भइसक्यो ।
चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन सहयोग स्वरुप यो उद्योगको निमार्ण गरिदिएको थियो । २०३९ सालमा स्थापना भएको उद्योगले ०४३ साल वैशाखदेखि उत्पादन थालेको थियो । भृकुटी कागज कारखाना निजीकरणपछि भृकुटी पल्प एन्ड पेपर लिमिटेड नाममा सञ्चालनमा आयो । २०४६ को राजनीतिक परिवर्तनपछि आमनिर्वाचनबाट २०४८ मा गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उदार आर्थिक नीति र निजीकरणलाई प्राथमिकता दिने नीति अनुसार पहिलोपटक निजीकरण गरिएका तीन उद्योगमध्ये भृकुटी कागज पनि एक थियो । यो उद्योगलाई २०४९ पुस २० गते निजीकरण गरिएको थियो । यो उद्योग सञ्चालन भएको २४ वर्षपछि र निजीकरण भएको १७ वर्षपछि २०६७ माघदेखि बन्द छ । यस उद्योगको मुख्य खरिदकर्ता गोल्छा अर्गनाइजेसन हो ।
'खण्डहर र सुनसान बनेको भृकुटी कागज कारखानाको रौनक कहिले फर्किएला ?' अहिले पनि चासो सबैमा छ तर यो प्रश्न अनुत्तरित छ ।