डाक्टरसँगको नाता प्रेममा बदलिएको थाहै भएन

प्रिय उदीप जी !
विवाहको ६ वर्ष पत्तै नपाई बितिसकेछ । तपाईंलाई नभनेका, भन्न साँचिराखेका केही कुरा आज म यो पत्रमा पोख्दै छु । पक्कै तपाईंले पत्रिकाका पन्नामा पढ्दै हुनुहुन्छ । कति न थिएँ, विवाहको जग्गेमा बस्दा २२ वर्षकी कलिली केटी ।

विवाह गर्न धेरै सोचेकी कहाँ थिएँ र ? प्रेममा परेको छोटो समयमै बाँधियौं हामी । बाँधिएर पनि हाम्रो सम्बन्ध एकअर्कालाई कहिल्यै बन्धन भएन । एक्लै हिँडेको गोरेटो दुई भएपछि झन् फराकिलो भयो । हामी खुसीको राजमार्गमा प्रवेश गर्‍यौं ।

उदीप जी ! तपाईंसँग प्रेम गर्नु मेरो जीवनकै सही निर्णय रहेछ । तपाईंसँग विवाह नभएको भए ! सायद पश्चातापमा जेलिन्थे हुँला । तपाईंजस्तो प्रेमी के मैले कहिल्यै पाउँथे ? सोच्छु– धन्न गुमाइनँ ।

सुरुमा भेटेको उदीप श्रेष्ठ मलाई औधी मन परेको मान्छे । तर आफ्नाहरूले सन्देह गर्थे, ‘कहाँ माया सधैं एउटै भइराख्ला र ?’ उदीप जी ! तपाईंलाई भेटेको दिनदेखि आजसम्म केलाउने हो भने बरु म बदलिएँ, तपाईं त झन्–झन् ‘जेन्टल’ हुँदै जानुभो । प्रेमी हुँदा र श्रीमान् हुँदाबीच कुनै बदलाव देखिएन । यो माया झन्–झन् गहिरो गाढा हुँदै गयो । सामुन्नेमा हुँदा तपाईंको तारिफ कहिल्यै गर्दिनँ । फुर्किनु हुन्छ कि लाग्छ । मैले तपाईंलाई हृदयमा यसरी सजाएको कुरा थाहा पाउनुहोला कि लाग्छ ।

उदीप जी ! मलाई त थाहै दिनु छैन । केवल माया गरिरहनु छ सुटुक्कै । तपाईंको प्रेमिल स्वभाव मलाई असाध्यै मनपर्छ । सोध्छु पनि बेलाबेला, ‘जस्तो भेटेको थिएँ, तपाईं आजसम्म किन त्यस्तै हुनुहुन्छ ?’ तपाईं मुसुक्क हाँस्नु हुन्छ र भन्नु हुन्छ, ‘म त यस्तै हो ।’

उदीप जी ! तपाईं कति रोमान्टिक हुनुहुन्छ है । म व्यक्तै गर्न नजान्ने मान्छेलाई महसुस गराइरहनु हुन्छ, प्रेम । देखाइरहनु हुन्छ आफ्नोे उपस्थिति । तर मलाई किन यही कुरा देखाउन आउँदैन ? गर्न खोज्छु पनि तर किन अप्ठ्यारो लाग्छ ? मैले खाना खाएँ÷खाइनँ, पानी कति खाएँ ? के खानुपर्छ ? के खानुहुन्न ? त्यो सबैको स्वस्थ हिसाब राख्नुहुन्छ तपाईं । हाम्रो उमेरमा १३ वर्षको फरक छ । उमेर मात्र हैन, पेसा पनि फरक । हुर्किआएको समाज र समुदाय पनि फरक । तर तपाईंले प्रेमले यसरी उन्नुभयो कि सम्बन्धको धागोमा कति सुन्दर देखियो ।

फर्केर हेर्दा ती दिन अनौठो लाग्छन् । मैले भर्खर प्लस टु सकाएकी थिएँ । अनि ‘मिस प्लस टु नेपाल पेजेन्ट’ मा भाग लिएकी थिएँ । पेजेन्टमा विनर भएपछि न हो ‘नाइँ नभन्नु ल ४’ फिल्ममा अफर आएको । म यहाँनिर हाम्रो कुरा जोड्छु । जति बेला पहिलो पटक मेरो मामाकी छोरीमार्फत तपाईंको नाम सुनेकी थिएँ । त्यो पनि तारिफका बान्कीहरूबाट । कुनै मोडलका नाम लिँदै उनीहरूका समूहको डाक्टरबारे उनले यसरी बखान गरिन् कि मैले तपाईंको नाम मेरो फेसबुकबाट खोजें । पछि तपाईं जोडिनु पनि भयो । बहिनीलाई उसले बयान गरेको केटा मेरो फेसबुकमा साथी भएको कुरा गर्वका साथ देखाएँ ।

‘नाइँ नभन्नु ल ४’ मा तौल घटाउनुपर्ने भयो मेरो । कसरी गर्ने भनेर सोचिरहेका बेला फेरि बहिनीले मलाई तपाईंको नाम सुझाइन्, ‘अस्ति नै मैले भनेको डाक्टर छन् नि । उनी विदेशमा भए पनि सल्लाह दिन सकिहाल्छन् नि ।’ यी संयोगहरू नजानिँदो ढंगले जुरिरहेका थिए । त्यही संयोग कसरी प्रेममा परिणत भयो ? म त्यो सम्झन चाहन्छु । हामीसँग पेसेन्ट र डाक्टरको नाता थियो । त्यो पनि सामाजिक सञ्जालका माध्यमबाट । प्रत्यक्ष भेटेका पनि कहाँ थियौं र ! हाम्रो कुराकानीमै मलाई अनुभूत भयो, ‘तपाईं कति जेन्टल ।’ कुराकानीको निरन्तरताको कारण नै तपाईंको सरलपना थियो । यदि कोही मेरो स्पेसभन्दा भित्र आउन खोज्थ्यो भने म त्यो बाटै बन्द गरिदिन्थें । तर तपाईंको स्वभावले बाटो त झन् फराकिलो बन्दै गयो ।

सन् २०१८ मा तपाईं नेपाल आउनुभयो, भेटौं भन्नुभयो । ६ महिना मैले विभिन्न बहाना बनाएँ । अब त अति भयो । जसले मलाई सहयोग गरेको छ । किन उसलाई एक भेटका लागि टारिरहेको छु ? आफैंसँग प्रश्न गरें । अन्ततः तपाईंसँग भेट्ने निधो गरें । मैले १५ मिनेट मात्र भेट्ने वचन दिएकी थिएँ । तपाईंले कफी खान गर्नुभएको प्रस्ताव पनि टारिदिएकी थिएँ । गाडीमै एक फन्को घुम्ने बताएकी थिएँ । १५ मिनेट अवधिभर मैले तपाईंलाई हेरिनँ । गाडीबाट झ्यालबाहिर नजर डुलाई मात्र रहें । यदि फेस टु फेस भेटियो भने के बोल्ने ? कसरी बोल्ने ? थाहा थिएन । मेरो अनुहार नदेखेर होला, सेल्फी खिच्न आग्रह गर्नुभयो । भलै तपाईंलाई असहज भएरै पनि मलाई सहज बनाइदिनुभयो । दोस्रो दिनदेखि हाम्रो भेट बाक्लिन थाल्यो । भेटसँगै सम्बन्धको दूरी पनि घट्न थाल्यो ।

पहिलो भेटमा तपाईं मलाई कस्तो लागेको थियो ? मैले भनें÷भनिनँ । तर आज भन्न चाहन्छु, जब तपाईंलाई भेटें, मेरो आँखाका लागि तपाईं साह्रै सुन्दर हुनुहुन्थ्यो । मनका आँखाका लागि झनै । तपाईंले मलाई अप्ठ्यारो हुने न कुनै कुरा गर्नुभयो, न व्यवहार । सायद कफीका लागि कर पनि त गर्न सक्नुहुन्थ्यो । गर्नुभएन । मलाई यो कुराले छोयो ।

उदीप जी ! अहिले यो समाज बुझ्दा, परिस्थिता देख्दा, पुरुष पात्रका समस्याहरू सुन्दा मलाई साँच्चै डर लाग्छ । म तपाईंलाई जिस्केर पनि भन्ने गर्छु, ‘मैले त जुवा खेलेको हुँ । एक्का ट्रायल पर्‍यो ।’ नपर्न पनि त सक्थ्यो । विवाहसम्म कसरी पुगियो त ? मसँग त्यसका पनि कारण छन् । ज्ञानी, सरल मात्र हैन । धैर्यपन थियो तपाईंमा । मेरो सुटिङ भइरहेका बेला पार्किङमा कसैलाई थाहै नदिने गरी ३ घण्टासम्म पर्खिरहनुभएको याद छ । जति बेला आउँदा पनि गुलाफ बोकेर आउनुहुन्थ्यो है ! मेरो कुरालाई सम्मान गर्नुहुन्थ्यो । निर्णय मानिदिनुहुन्थ्यो । मेरो मन चोर्न त त्यो नै काफी थियो त्यति बेला । मभन्दा राम्रो अर्को कोही व्यक्ति लाग्थ्यो भने तपाईं नै हो । त्यही सोचाइको भरमा मैले बिहे गरेकी थिएँ । तर त्यो व्यक्ति त्यही नहुन पनि त सक्थ्यो । उदीप जी ! तपाईं त्योभन्दा बढी अझै कञ्चन हुनुहुँदो रहेछ ।

बिहे भनेको समान भाव राखेर गरिरहने सहयात्रा हो । एउटा बिरुवा ल्याएपछि मलजल नगरी हुर्कन्न । उदीप जी ! तपाईंले पनि त्यसैगरी हौसला र सपोर्टले मलजल गर्नुभयो । हामी दुवैमा परिवर्तन आएको छ । तपाईं मजस्तै हुँदै जानुभएको छ, म तपाईंजस्तै । हामी दुवैलाई एक अर्काको राम्रो बानी सर्‍यो, राम्रो बानी पर्‍यो । सायद जीवन सुमधर हुनुको कारण यो पनि हो कि !

उदीप जी ! बिहे सजिलो पनि त हैन । जुन गर्नुअघि सोच्थें । कम्प्रमाइज पनि गर्नुपर्ने रहेछ । यद्यपि, हामीले एकअर्काका लागि गरेका कम्प्रोमाइज कति सुन्दर छन् । जसले एकअर्कालाई हानि गर्र्दैनन् । बरु खुसी बाँड्छन् । कुनै सम्बन्ध सुन्दर कम्प्रोपाइज गर्न नजान्नाले पनि चिसिन्छन् । कम्प्रोमाइज त साथीसँग पनि गर्नुपर्छ । बरु प्रेमपूर्ण हुनुपर्छ । एउटालाई तल र अर्कालाई माथि पो राख्नुभएन । एकअर्कालाई हुर्काउन र फुलाउन मद्दत गर्ने कम्प्रोमाइज किन नगर्ने ? हैन त, उदीप जी । हाम्रो सम्बन्ध श्रीमान् र श्रीमतीको जस्तो छैन । साथीजस्तो छ । मिठास पनि यसैमा छ ।

म माइत हरेक दिनजसो गइरहन्छु । त्यहीँ चाबहिल त हो । एक दिन नजाँदा बा फोन गरेर सोध्नुहुन्छ– खोइ कहिले आउने ? म नहुँदा वा सुटिङमा जाँदा त्यो ग्यापलाई तपाईंले पूरा गर्नुहुन्छ । मेरो साटो तपाईं नै गइरहनुहुन्छ । मेरा बा र तपाईं त साथीजस्तै हुनुहुन्छ ।

म पहिला–पहिला आफ्नो जीवनसाथी कल्पिन्थें । उसको स्वभाव कस्तो हुनुपर्छ ? सोचिल्याउँदा निक्र्योलमा पुग्थें– आफ्नै बुबाको जस्तो । मैले कल्पेको जीवनसाथी ठीक तपाईं नै हो । जो कहिल्यै आफूलाई ठूलो ठान्दैन । अर्काको भावनाको उत्तिकै सम्मान गर्छ । जुन तपाईंले मेरो गरिरहनुभएको छ ।

उदीप जी ! सपना त कहिल्यै सकिन्न, एकपछि अर्को आइरहन्छन् । हामीले साथसाथ सपना देखेका छौं । तपाईं नेपाल नबस्ने मान्छेलाई मैले यहीँ राखें । यहीँ बसे मात्र विवाह गर्ने सर्तमा । तपाईंले मेरो सर्त मान्नुभयो । सधैंका लागि नेपाल बस्नुभयो । हाम्रो हस्पिटल हेल्दी च्वाइस हामीले देखेको सपनामध्ये एक हो । त्यसलाई जहाँ पुर्‍याउनु छ, सँगै पुर्‍याउनेछौं । मेरो भरपूर साथ हुनेछ ।

मैले कहिल्यै शब्दमा व्यक्त गरिनँ होला प्रेम । तर यो पत्र पढ्दै हुनुहुन्छ भने पक्कै खुसी हुनुहुनेछ । तपाईंजस्तो साथी पाउनुमा निकै हर्षित छु, उदीप जी ।

प्रिय श्रीमान् ! म तपाईंलाई जीवनभर उही खुसी महसुस गराउन सकुँ ।

– उही तपाईंकी, आँचल