जब ख्रुस्चेभ हृषीकेश शाहसँग रिसाए
अमेरिकाका लागि नेपालका प्रथम सचिव नारायणप्रसाद अर्जेल न्युयोर्कको एउटा होटलको गेटमा आगन्तुकलाई स्वागत गर्न उभिएका थिए। साँझको त्यो समय– एक चिरपरिचित व्यक्ति सुरक्षा दलबलसहित गाडीबाट उत्रिए। टाउकोमा ह्याट र ओभरकोट पहिरिएका ती व्यक्ति थिए, सोभियत संघका प्रधानमन्त्री निकिता ख्रुस्चेभ।
त्यो दिन नेपालले म्यानहटनस्थित होटलमा अन्तर्राष्ट्रिय जगतका प्रभावशाली व्यक्तिहरूलाई निम्ताएर भोजको आयोजना गरेको थियो। संयुक्त राष्ट्र संघको बैठकमा ख्रुस्चेभको व्यवहारलाई लिएर विरोध भइरहेको अवस्थामा नेपालले आयोजना गरेको भोज आफैंमा महत्त्वपूर्ण हुने भइ नै हाल्यो। विरोध जनाउनेहरूको सूचीमा अग्रपंक्तिमा नेपालकै राजदूत हृषीकेश शाह उभिए।
एक दिनअघि अमेरिकी पत्रिकाहरुले शाहको तस्बिरसहित एउटा प्रतिक्रिया प्रकाशित गरेको थियो। जसमा उल्लेख थियो, ‘ख्रुस्चेभको व्यवहार अशोभनीय छ। यसले क्षेत्रीय सन्तुलनलाई असर पार्छ।’
अमेरिकी पत्रिकामा त्यो समाचार छापिनु र भोलि साँझ भोजमा ख्रुस्चेभ उपस्थित हुनु अनौठो संयोग जुर्यो । भोजमा भारतीय विदेश नीतिका योजनाकार कृष्ण मेनन, इजरायलकी विदेशमन्त्री गोल्डा मायर लगायतको बाक्लो उपस्थिति थियो। भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुको त्यो दिन अर्को ठाउँमा बैठक तय भइसकेका कारण आफू आउन नसक्ने जानकारी नेपालीपक्षलाई गराइसकेका थिए।
“हृषीकेश शाहलाई देखेपछि ख्रुस्चेभ भड्किए र बीपीलाई भने– यो त अमेरिकी मान्छे हो,” अर्जेलले सुनाए, “प्रतिवादमा बीपीले भने, होइन महामहिम ! उनी हाम्रो मान्छे हुन्।”
यस्तो अवस्थामा ख्रुस्चेभको आगमन अन्य पदाधिकारीका लागि मात्र नभएर अर्जेलका लागि पनि अपत्यारिलो थियो। कारण, दुइ दिनअघि १२ अक्टोबरमा राष्ट्र संघको महासभा हलमा भएको ‘जुत्ता काण्ड’ का उनी प्रत्यक्षदर्शी थिए। प्रधानमन्त्री बीपी कोइरालासँगै पछाडिको सिटमा बसेका उनले बैठक हलमा शीतयुद्धका दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियतसमर्थित देशका प्रतिनिधिहरू एकअर्कालाई आफ्नो भाषणमार्फत दोषारोपण गरिरहेको देखे।
त्यही बेला फिलिपिन्सका वैदेशिक विभाग प्रमुख लोरेन्जो सुमुलोङले भन्न भ्याए, “पूर्वी युरोपका जनता राजनीतिक तथा नागरिक अधिकारबाट वञ्चित छन्। उनीहरूलाई सोभियत संघले निल्यो ।” यो सुन्नेबित्तिकै ख्रुस्चेभ जंगिए। उनले दाहिने खुट्टामा लगाएको जुत्ता एक्कासि फुकाले र फिलिपिनी प्रतिनिधिलाई देखाए। यसपछि आफ्नो टेबलमा ठटाए।
बैठकमा एकाएक तनाव उत्पन्न भयो। ख्रुस्चेभ चिच्याइरहेका थिए। मुट्ठी बजार्दै दाहिने हात हल्लाए र जुत्तालाई टेबलबाट हटाए। तर, अमेरिकी सहायक विदेशसचिव फ्रान्सिस ओ. विल्कोक्स भाषणका लागि अगाडि बढेका मात्र के थिए, पुनः जुत्तालाई टेबलमाथि राखे।
यो घटना नियालिरहेका बीपीले नेपाली प्रतिनिधिमाझ छोटो प्रतिक्रिया जनाए– रस्टिक (देहाती)।
ख्रुस्चेभको व्यवहारबाट बीपी मात्र होइन, अर्जेल पनि पहिलेदेखि जानकार रहेछन्। सन् १९५९ मा उनी प्रथम सचिवको नियुक्ति लिएर अमेरिका जाँदा त्यही वर्ष सेप्टेम्बरमा राजकीय भ्रमणका लागि ख्रुस्चेभ अमेरिका पुगेका थिए। त्यो भ्रमण सोभियत नेताको पहिलो अमेरिकी भ्रमण थियो। त्यसैले अमेरिकी अखबारले ख्रुस्चेभको भ्रमणलाई प्रमुखताका साथ छापे।
ख्रुस्चेभ आउनुअघि सोभियत दूतावासले अमेरिकी सरकारसँग सोधेको रहेछ– आफ्नो प्रतिनिधिले पानी पिउनुपर्यो भने कहाँको पिउने भनेर। तर, अमेरिकी अखबारले यसलाई ठूलै मसला बनाए। अमेरिकी अधिकारीको जवाफ भन्दै उनीहरूले छापे– हामीकहाँ पार्कको बिरुवामा हाल्ने पानी पनि पिउन लायक छ।
संयुक्त राष्ट्र संघमा अमेरिकी सहायक विदेशसचिव फ्रान्सिस ओ. विल्कोक्सले भाषण गरिरहेको बेला विराेध जनाउन टेबलमा जुत्ता राखेर बसेका ख्रुस्च्रेभ। तस्बिर : संयुक्त राष्ट्र संघ पुस्तकालय।
आफ्नो पहिलो अमेरिकी भ्रमणमा ख्रुस्चेभ वासिङ्टन डीसी, न्युयोर्क, क्यालिफोर्निया, पेन्सलभेनिया र क्याम्प डेभिड घुमे। त्यतिबेला अमेरिकामा ‘क्यान–क्यान डान्स’ निकै लोकप्रिय थियो। खुट्टा उफारेर नाच्ने त्यो कला देखाउन अमेरिकीहरूले हलिउडस्थित ‘ट्वेन्टिथ सेन्चुरी स्टुडियो’ लगेका थिए। तर डान्स उत्तेजक भयो भन्दै ख्रुस्चेभ अर्कोतिर फर्किए।
नेपाललाई आफ्नो पक्षमा पार्न ख्रुस्चेभले ठूलै प्रयास गरेका थिए। उनले बीपीलाई हार्लेमस्थित आफू बसेको होटलमा पनि बोलाए। बीपीलाई छाड्न पार्किङसम्म उनी स्वयं आए।
ख्रुस्चेभका यस्ता व्यवहारलाई बीपी अभिनय भन्थे। नेपालले दिएको पार्टीमा पनि यस्तै एउटा घटना भयो। ख्रुस्चेभलाई गेटमा स्वागत गरेपछि अर्जेल उनीसँग होटलको कम्पाउन्डमा प्रवेश मात्र के गर्दै थिए, हृषीकेश शाहलाई देख्ने बित्तिकै झम्टिए।
त्यो घटना सम्झिँदा ९४ वर्षमा हिँडिरहेका अर्जेललाई अहिले पनि हाँसो लाग्छ। “हृषीकेश शाहलाई देखेपछि ख्रुस्चेभ भड्किए र बीपीलाई भने– यो त अमेरिकी मान्छे हो,” अर्जेलले सुनाए, “प्रतिवादमा बीपीले भने, होइन महामहिम ! उनी हाम्रो मान्छे हुन्।”
हृषीकेश शाहले आफूविरुद्ध वक्तव्य दिएको भनेर ख्रुस्चेभ निकै रिसाएका थिए। उनले हृषीकेशसँग कुरा गर्न पनि मानेनन्। तर, यत्तिकैमा बीपीले विषयान्तर गर्दै माहोललाई सहज तुल्याएको अर्जेलले सुनाए।
ख्रुस्चेभले महासंघको बैठकमा २ घण्टा २० मिनेट भाषण गरे। १९ हजार शब्दको त्यो मन्तव्यमा उनले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोको नीतिको खुलेर प्रशंसा गरेका थिए। अमेरिकामा अफ्रिकी प्रतिनिधिप्रति अमानवीय व्यवहार भइरहेको भन्दै उनले राष्ट्र संघको मुख्यालय स्वीटजरल्याण्ड वा मस्कोमा सार्नुपर्ने जिकिर पनि गरे।
क्यास्ट्रो सैनिक पोसाकमै बैठकस्थल आउँथे। अन्य देशका प्रतिनिधि राम्रै होटलमा बसेका थिए। तर, आफूलाई काला र गरिबको समर्थक देखाउन क्यास्ट्रो हार्ले मेरियामा बस्थे। त्यो ठाउँ कालाहरूको गरिब बस्तीको रूपमा परिचित थियो।
नेपाललाई आफ्नो पक्षमा पार्न ख्रुस्चेभले ठूलै प्रयास गरेका थिए। उनले बीपीलाई हार्लेमस्थित आफू बसेको होटलमा पनि बोलाए। बीपीलाई छाड्न पार्किङसम्म उनी स्वयं आए। “उपनिवेशमा रहेका अफ्रिकी र एसियाली राष्ट्रको पक्षमा ख्रुस्चेभको आवाज मुखर थियो। उनी यी देशहरूबाट समर्थन चाहन्थे। उनको भूमिकाबाट यी देश पनि खुसी नै थिए,” ९४ वर्षीय पूर्वकूटनीतिकर्मी अर्जेल सम्झन्छन्।
तर, बीपीले राष्ट्र संघको मुख्यालय सार्ने र राष्ट्र संघमा महासचिवको स्थानमा तीन सदस्यीय एक समिति बनाउने ख्रुस्चेभको प्रस्ताव स्विकार गरेनन् ।