सिन्धुलीमा २० अर्ब चिनियाँ लगानीमा मासु उद्योग अबको दुई वर्षभित्र २० अर्ब रुपैयाँँ चिनियाँ लगानीमा सिन्धुलीको मरिण गाउँपालिका–४ मा राँगाभैंसीको मासु उद्योग कम्पनी सञ्चालनमा आउने भएको छ। उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार रागाँभैंसीको मासु उत्पादन तथा बिक्री गर्ने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा आउन लागेको हो। यही साउन ४ गते लगानी उद्योग विभागबाट उक्त कम्पनीले स्वीकृति पाइसकेको सूचना अधिकारी पुरीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार सामाजिक सञ्जालमार्फत यसबारे केही जानकारी गराएका छन् । उनले फेसबुकमा उद्योगको संकेत गर्ने तस्बिरसमेत सार्वजनिक गरेर लेखेका छन्, ‘गत मंसिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण–४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्नेछ।’ विभागका अनुसार उक्त चिनीयाँ कम्पनीले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीनतर्फ निर्यात हुनेछ। निर्यात र रोजगारी सिर्जनाका लागि यो उद्योग महत्वपूर्ण हुने प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गरेका छन्। उद्योग विभागका सूचना अधिकारी पुरीका अनुसार चिनियाँ कम्पनीले अबको १० देखि २० महिनाभित्र निर्माणकार्य पूरा गर्नेछ भने दुई वर्षभित्र उत्पादन थाल्ने जनाएको छ। उक्त कम्पनीले उद्योग स्थापना गर्न सिन्धुलीमा एक सय बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव सरकारसँग गरेको छ। चिनियाँ कम्पनीलाई एक सय बिघा जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ। उक्त कम्पनीको मासु उत्पादन क्षमता वार्षिक दुई लाख मेट्रिक टन हुनेछ। विभागका अनु्सार चिनियाँ कम्पनीले राँगाभैंसीको मासु उत्पादन गर्न सुरु गर्यो भने सुरुमा दैनिक पाँच सय वटा राँगाभैंसी खरिद गरिनेछ। पछि उत्पादन बढाउँदै कम्पनीले दैनिक पाँच हजार वटा राँगाभैंसी खरिद गर्नेछ। राँगाभैंसी नेपालका विभिन्न जिल्लाबाट खरिद गरिने बताइएको छ। यसबाट ठुलो मात्रामा किसानहरूलाई अप्रत्यक्ष आर्थिक लाभ हुने अपेक्षा गरिएको छ। उक्त चिनियाँ कम्पनीले राँगाभैंसीबाट उत्पादित मासुको बजार चीन र नेपाललाई बनाउनेछ। तर नेपालमा भन्दा चीनमै बढी मासु खपत हुने बताइएको छ। सिन्धुलीमा उत्पादन भएको मासु केरुङ नाका हुँदै चीन लगिनेछ। सूचना अधिकारी पुरीका अनुसार उक्त उद्योगलाई विभागले कृषि तथा वन पैदावारमा आधारित उद्योगका रूपमा राखेको छ। उक्त उद्योगको लगानी शतप्रतिशत चिनियाँ हुनेछ। त्यसलाई नेपालको निर्यात र रोजगारीका लागि ‘गेम चेन्जर’ उद्योगका रूपमा हेरिएको छ। नेपालमा पर्याप्त मात्रामा राँगाभैंसी उत्पादन भए पनि मासु प्रभावकारी र ठुलो मात्रामा विदेशमा निर्यात हुन सकेको छैन, थोरै परिणाममा मात्र विदेशमा पठाउने गरिएको छ। ‘स्ट्यान्डर्ड प्याकिङ’को अभावले प्रभावकारी रूपमा राँगाभैंसीको मासु विदेशमा निर्यात गर्न सकिएको छैन। चिनियाँ कम्पनीले काम सुरु गर्यो भने राँगाभैंसीको मासु व्यवस्थित र वैज्ञानिक किसिमबाट विदेशमा निर्यात हुनेछ। सूचना अधिकारी पुरीका अनुसार उक्त चिनियाँ कम्पनीले सिन्धुलीमा काम सुरु गर्यो भने सुरुका १२ महिनाभित्र ६ अर्ब रुपैयाँ लगानी गरिसक्नेछ। त्यसको २७ महिनाभित्र १० अर्ब रुपैयाँ लगानी गर्नेछ। यसैगरी उद्योग स्थापना भएको ३६ महिनाभित्र अरू चार अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासमेत उक्त चिनियाँ कम्पनीले विभागसँग गरेको छ।