ड्रागन फ्रुटखेतीप्रति आकर्षण बढ्दै
वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्। सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुटखेती सुरू गर्नुभएको छ । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उनले आम्दानीसमेत गर्न थाल्नुभएको हो।
मैनालीले वर्षमा दुईपटक बजारमा यो फल बिक्री गर्नुहुन्छ। उनले खेतबाट प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्ममा ड्रागनफ्रुट बिक्री गर्दै आएको उनी बताउँछन्। वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उनी परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताउँछन्।
बाँझो जमिनलाई फल्ने बनाउने उनीको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिङ्गो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो। दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मनालीको भनाइ छ। उनले भने, “यो खेती केवल व्यावसायिक रूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ।”
त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको करिब पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ। यहाँ करिब ४०० बिरुवा रोपिएका छन्। अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ। उनले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरू बगानमै आउँछन्। ज्येष्ठदेखि कात्तिकसम्ममा दुईपटक फल बेचेर आम्दानी गर्दै आएको उनी बताउँछन्।
खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो। बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६५० देखि ८५० सम्ममा किन्न पाइन्छ। नेपालमा पहिलोपटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए।
पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ। एकपटक लगाएको बिरुवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन्। यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ।
कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ। यो खेती एकपटक लगाएपछि १५–२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकका लागि लाभदायक विकल्प हो।
भित्रलाल त्रिपाठी पनी ड्रागन फ्रुटखेतीमा
साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागेका छन्। सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उनी व्यवसायिक ड्रागन खेतीमा लागेका हुन्।
सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण भएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गरेका छन्।
जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उनले बताए।
पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उनले भने, “राम्रो उत्पादन दिएपछि आफ्नो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा श्रोत हो। ”
समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहेका कृषक त्रिपाठी बताउँछन्।
उनले भने, “२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस) फर्म दर्ता गरेर सुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो।”
यस वर्ष उत्पादन राम्रो भएको छ, आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए। उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ।
खरिदका लागि ग्राहक फर्मै आउनुहुन्छ आफै टिप्नु हुन्छ र तौलेर लैजानले गरेको बताउँदै त्रिपाठी भन्नुहुन्छ उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उनको भनाइ छ। उनले फर्म सुरू गर्नुभन्दा पहिलो एक हजार छसय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाए।
“उत्पादित फल बिक्री हुँदैनकी भन्नु पर्दै ड्रागनका पारखि फर्मै आउनु हुन्छ” उनले भने, बजारको मागअनुसारको फल पुर्याउन सकेको छैन। बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ। ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्छ।
त्रिपाठीले भने, फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१। ०८२ मा चार लाख ७६ हजार ९८५ रुपैया बरावरको आर्थिक एवम् प्राविधिक सहयोग पाप्त भएको थियो।
पक्कि पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिंउदको समयमा पर्ने असिनाबाट वोट र फल जोगाउँका लागि उनले जाली राख्ने फ्रेम समेत निर्माण गरेका छन्।
फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किय वोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन्। देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उनको सुझाव छ।
जग्गा बाँझो नराखौ भन्ने अभियानमा जुटेका त्रिपाठीले ड्रागनको फल मात्र नभई विरुवासमेत बिक्री गर्दै आएका छन्। एउटा विरुवा रु २०० देखि एक हजारसम्ममा बिक्री गर्दै आएको रासससँग कुरा गर्दै उनले थपे, फुर्केटारी ड्रागन फर्मका विरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन्। विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुँने गरेको छ।
फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उनले सरकारी सेवाबाट निभृत्तिभरण भई सकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताए। फर्ममा दैनिक दुइदेखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन्।
पोखरा–२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्पm आकर्षित हुँदै गएको बताउनुभयो। फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उनको भनाइ छ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताए।
बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने कृषि विज्ञको धारणा छ।
पदम गौतम (खत्री)
बनियानी (झापा) – यहाँको कचनकवल गाउँपालिका–६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ। करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उनले कृषिलाई अँगालेका हुन्।
विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताए।
उनले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गरेका छन्।
दुई वर्षको अवधिमा उनले ड्रागन फ्रुटखेतीबाट वार्षिक रु दुई लाख आम्दानी गर्न थालेका बताउँदै भन्नुभयो, “कुरिलोखेतीले तीन वर्षमा रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी दिएको छ।”
कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताए। कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उनको भनाइ छ।
“अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्”, उनले भने, “तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ।”
बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताए। “स्थानीय बजारको अभाव छ”, उनले भने, “उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ।” उनले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पुर्याउनुपर्ने बाध्य रहेको उल्लेख गरे।
गौतमले ५० वटा आभोकाडोका बिरुवा परीक्षणका रूपमा रोप्नुभएको छ। यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उनको बुझाइ छ। कृषिलाई थप व्यावसायिक बनाउन उनले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताए।
कुरिलो फागुनदेखि सुरु भई करिब छ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ। माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उनले बताए।
कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उनले जोड दिए।
प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहेका छन्।