कुलमान कति छिटो राजनीतिमा आउलान् 

चार वर्षे कार्यकाल सकिनुभन्दा करिब ५ महिनाअघि १२ चैतमा सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्‍यो । पदबाट हटेपछि लामो समय गुपचुप रहेका कुलमान १८ असारमा १५ लाख हाराहारीमा नेपाली श्रमिकहरू कार्यरत रहेको खाडीको खाडीको यात्रामा निस्किए ।

बहराइनबाट सुरु भएको उनको यात्रा संयुक्त अरब इमिरेटस, ओमान र कतार पुगेर टुंगियो । यो १४ दिने यात्राका क्रममा कुलमानले खाडीमा रहेका नेपालीबाट नागरिक सम्मान मात्रै थापेनन्, श्रमिकको क्याम्प क्याम्पमै पुगेर नेपालीहरूसँग अनौपचारिक कुराकानीसमेत गरे । उनी जहाँ-जहाँ पुगे पनि नेपाली श्रमिकको एउटै प्रश्न थियो, तपाईँ कुनै दलमा प्रवेश गर्दै हुनुहुन्छ कि आफ्नै नेतृत्वमा राजनैतिक पार्टी खोल्दै हुनुहुन्छ ?

३० हजार नेपाली श्रमिक कार्यरत बहराइनमा कुलमानले भव्य स्वागत मात्रै पाएनन् त्यहाँस्थित नेपालीहरूबाट नागरिक अभिनन्दन नै ग्रहण गरे । त्यही जोसमा उनले पहिलोपटक बहराइनबाट उज्यालो नेपाल अभियान सुरु गरेको घोषणासमेत गरे । सबैजसो भेटघाटमा कुलमानले तत्कालै राजनीतिक दल खोल्ने त बताएनन् । तर, राजनीतिक दल खोलेर अगाडि बढ्नेतर्फ उन्मुख भएको प्रस्ट संकेत भने दिए । आफूप्रति प्रवासमा रहेका नेपाली श्रमिकको बुझाइ कस्तो छ भन्ने बुझ्न खाडी भ्रमणमा निस्केका कुलमान श्रमिकको क्रेज देखिएर हौसिएका देखिन्थे ।

१४ दिने खाडी यात्राबाट सोमबार फर्केका कुलमानले कति छिटो राजनीतिमा होमिएलान् अनि उनको राजनीतिले धमिलिएको नेपाली राजनीतिमा कति उज्यालो छर्ला त्यो थाह पाउन भने उनको राजनीतिक मुभ नै हेर्नुपर्ने हुन्छ । कुलमानको खाडी यात्रा र उनले चाल्न खोजेको अभियानबारे ईकान्तिपुरले तयार पारेको भिडियो सामग्री :