ममको विश्वयात्रा
अचेल जेनजी वा सहरी मिलेनियल्स पुस्ताका सामाजिक सञ्जालले बोल्छ- काठमाडौं मम नै ममको सहर हो। उनीहरू हरेक दिन थरीथरीका ममका तस्बिर/भिडियो मुखै रसाउने गरी साझा गर्दै भनिरहेका छन्- मम केवल स्वाद होइन, यो त भावना हो।
ममप्रति नेपालीको लगाव देख्दा लाग्छ- यो हाम्रो पेटभित्र मात्र पुग्दैन, यसको स्वादको अंश आत्मामै गढेर टाँसिन्छ। काठमाडौं उपत्यकाका पुराना साँघुरा गल्ली, नयाँ फराकिला बाटा, नामैबिनाका साना होचा होटलदेखि नामूद तारे रेस्टुराँसम्म एकै समयमा हजारौं मानिस ममको तातो बाफको सुगन्धमा लठ्ठिरहेका छन्। अमिलो पिरो ट्वाक्क अचारको स्वादमा मम खाँदै उनीहरू उद्घोष गरिरहेका छन्- खाजा भनेकै मम।
ममप्रेमीहरूलाई थाहा छ, काठमाडौंको जस्तो मीठो मम कहीँ पाइँदैन। यहाँको मममा जति विविधता सायदै संसारको अन्य कुनै सहरमा होला! मम क्रेज काठमाडौं या नेपालमा मात्र सीमित छैन। संसारभर जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ ममको चर्चा र बास छ।
अचेलका पुस्तालाई कुनै बेला नेपालमा मम अस्तित्वमै नरहेको कुरा सुन्दा पनि अचम्म लाग्ला। आजको दिनमा नेपाली भोजन संस्कृतिको अभिन्न हिस्सा बनिसकेको मम देशभित्रै व्यापक बनेको दुई दशक नाघेको छैन। मम सार्वजनिक रूपमा हाम्रो भोजन संस्कृतिमा प्रवेश गरेको सन् १९५० को दशक आसपासदेखि हो।
ममको कथा नेपालीसँग जोडिएको पृष्ठभूमि भने धेरै पुरानो छ। काठमाडौंका नेवार समुदाय दक्षिण एसियामा भारत र तिब्बतसँगको मध्यस्थ व्यापारको केन्द्रमा थिए। ‘सहरीकरण: जीविकाका विविध आयाम’ पुस्तकमा समावेश पीताम्बर शर्माको लेखअनुसार सन् १४८० देखि १७६८ बीच तिब्बतको व्यापार काठमाडौं उपत्यकाका सहरहरूकै नियन्त्रणमा थियो। व्यापार व्यवसायको सिलसिलामा काठमाडौंका कयौं नेवार तिब्बत आउजाउ गरे। कति त साहुजी बनेर उतै स्थापित भए।
तत्कालीन समयमा भारतसँग हुने तिब्बती व्यापारमा काठमाडौंलाई मार्गको एकाधिकार थियो। त्यहाँ व्यापार व्यवसाय गर्ने विशेष सुविधा पाएका नेवारहरूले आफ्नो प्रभुत्व नै स्थापित गरेका थिए। पत्रकार सुधीर शर्माले आफ्नो पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’मा ल्हासामा पाँच सय वर्षभन्दा पुराना नेपाली पसल भएको उल्लेख गरेका छन्। २००० सालमै ह्लासामा नेपाली वाणिज्य संघ खोल्ने पनि तिनै ल्हासा-नेवार थिए। नेवार व्यापारीहरूले भारतबाट महँगा सामान ल्याइ ल्हासाका धनी परिवारलाई बेच्ने गर्थे। यसका लागि उनीहरूले निकै लामो र कठिन यात्रा गर्नुपर्थ्यो। आज पनि ल्हासामा व्यापार गर्नेहरूका सन्ततिलाई ल्हासा-नेवार, ल्हासा-साहु भन्ने गरिन्छ।
नेवार व्यापारीहरू वर्षौंसम्म तिब्बत बस्ने क्रममा त्यहीँको स्थानीय भोजन संस्कृतिबाट प्रभावित हुनु स्वाभाविक थियो। यही प्रभावमा रहर र बाध्यवतावश उनीहरूले त्यहाँ प्रचलित खानेकुरा बनाउने सीप पनि सिके। तिनै व्यापारीले नेपाल फर्केर आफ्ना परिवारका सदस्यलाई ती परिकार बनाउन सिकाएको अनुमान गर्न सकिन्छ।
काठमाडौं यस्तो सहर हो, जहाँ मानिसहरू रेस्टुराँमा जे पनि खान स्वतन्त्र छन्, तर अझै घरभित्र ती खानेकुरा निषेध छ। मम सडकको खाजा भएकाले नेवारभित्रकै गैरनेवारमात्र नभई ‘उच्च वर्ग र उच्च जात’का नेवार पनि धकाउँथे।
इतिहासकारहरू ममको इतिहास बुझ्न चीनको डम्पलिङको इतिहासमा पुग्छन्, जसलाई जियाओजी/जिओजी भनिन्छ। उमालेको पानीको बाफमा उसिनेको मैदा/पिठोको डल्लो नै डम्पलिङ हो। चीनको डम्पलिङ तिब्बत आइपुग्दा मोग मोग बनेको धेरैको निष्कर्ष छ। तिब्बती मोग मोगमा मासु र अलिकति तरकारी हुन्थ्यो तर मसला हुन्थेन। मासु पनि याक वा भेडाको हुन्थ्यो। ल्हासा—नेवारले काठमाडौंमा राँगाको मासु र मसलाको प्रयोग गरेर मोग मोगलाई नेवारीकरण गरिदिए। अनि आफ्नै नाम पनि दिए, ममचा।
हाल ममको इतिहास, विकास र भविष्यमा केन्द्रित भई पुस्तक लेखिरहेका कशिशदास श्रेष्ठ ल्हासा-नेवारहरूलाई नै मम काठमाडौं भित्र्याउने सूत्रधार मान्छन्। केही लेखहरूमा मम १४ औं शताब्दीमा नेपालबाट तिब्बत गएको काल्पनिक कथा लेखिएको भन्दै उनी भन्छन्, “मम तिब्बतको बाटो भई नेपाल प्रवेश गरेको हो भन्नेमा विवाद गर्नुपर्ने कुनै आधार छैन।”
काठमाडौंका नेवारहरूको भान्सामा मम कहिल्यै परम्परागत भोजनको हिस्सा नरहेको उनको तर्क छ। “सयौं वर्ष पुरानो भोजन परम्परा भएको नेवाः संस्कृतिमा मम नयाँ परिकारका रूपमा पछि थपिएको हो,” उनी थप्छन्, “सन् १८०० को अन्त्यदेखि १९९० को दशकसम्म गुठी वा पारिवारिक गतिविधिका रूपमा सीमित मम १९५० पछि बिस्तारै व्यावसायिक परिकार बन्दै गयो।”
अनि मम बन्यो ममचा
नेपालीको सार्वजनिक स्मृतिमा मम सन् १९४०/५० तिर मात्र देखापर्ने कारण पनि यही हो। क्याराभान टु ल्हासा : अ मर्चेन्ट अफ काठमाडौं इन ट्राडिसनल तिब्बत’ पुस्तकका लेखक कमलरत्न तुलाधरले काठमाडौंमा सन् १९४२ तिर पहिलो पटक सडकछेउ मम पसल देखेको स्मृति साटेका छन्। काठमाडौंको बजारमा मम प्रवेश गर्नुअघि यिनै सम्पन्न ल्हासा-नेवारको घरमा मात्र पाक्थ्यो।