काठमाडौँ : हनुमानढोकामा रहेको ‘प्रहरी भवन’ भत्काउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ। हिजो(मंगलबार) आइजिपी थापा र प्रमुखसाहबीच भएको छलफलपछि त्यहाँको प्रहरी भवन भत्काउने मौखिक सहमति भएको हो। हिजो उक्त भवनबारे छलफल गर्नका लागि नेपाल प्रहरीका आइजिपी थापा महानगरपालिकाको कार्यालय पुगेका थिए। नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले भने, ‘हिजो हाम्रो आइजिपी साप र मेयरबीच भेट र कुराकानी भएको थियो, कुराकानीबाट विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाभित्र प्रहरी भवन पर्‍यो, त्यसैले भत्काउनेबारे एक किसिमको मौखिक सहमति भएको छ,लिखित रुपमा चाहिँ भएको छैन।’ उनका अनुसार महानगरपालिकाले उक्त भवन रहेकोमा पोखरी बनाउने योजना रहेको जानकारी दिएको छ। स्थानीय बासिन्दाले पनि विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाभित्र प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्। महानगरपालिकाले हनुमानढोकामा रहेको प्रहरी भवन भत्काएपछि ५ रोपनी जग्गा उपलब्ध गराउनेबारे कुरा पनि भएको उनले जानकारी दिए। ‘रामशाहपथमा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन बनाउन त्यहाँ ५ रोपनी जग्गा महानगरले उपलब्ध गराउने कुरा भएको छ, यसबारे लिखित रुपमा सहमति भने भएको छैन,’उनले भने।