सर्पको टोकाईबाट कमलाको छाउगोठमा मृत्यु
शुक्रबार छाउगोठमा सर्पको डसाइबाट कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको ज्यान गयो । गत वर्ष वडा कार्यालयले यस क्षेत्रमा छाउगोठ भत्काउने अभियान चलाएको थियो । तर वडाको अभियान प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा कमलाको मृत्यु भयो ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेद्भाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ । साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा आज पनि महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।
२०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको देखिन्छ । प्रभावकारी सरकारी निर्देशनको अभाव अनि परम्परा धान्ने नाममा महिलाहरुलाई छाउगोठमा राख्ने अन्धविश्वासका कारण कमलाहरुले बर्सेनि ज्यान गुमाइरहेका छन् । यसै बिषयमा कान्तिपुरले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस् ।