संस्कृति र सम्पदामा धनी सहर हो भक्तपुर । परम्परागत नाचगान तथा जात्रा–पर्वले सम्पन्न छ भक्तपुर । यहाँ धेरै मूर्त र अमूर्त सम्पदा छरिएर रहेका छन् । भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने प्रसिद्ध बिस्काः जात्राको महत्त्व त पछिल्लो समय झनै बढेको छ । बिस्काः जात्रा विक्रम संवतानुसार सौर्यमासको नयाँ वर्ष सुरु हुनुभन्दा ४ दिनअघि सुरु गर्ने चलन छ । नगरको मध्यभागमा रहेको तः मारी (टौमढी) टोलमा चैत दोस्रो सातादेखि भैरवनाथको रथ (भैल खः) र भद्रकालीको रथ (नकिजु खच्चा) बनाउन शिल्पकार समुदाय सक्रिय हुन्छन् । प्यागोडा शैलीमा काठैकाठले बनेको तीनतले भैल खः र नकिजु खच्चाले पूर्णता पाएपछि रंगरोगन गरी चिटिक्क पारिन्छ । सुरुमा भद्रकालीको रथ तानिन्छ । त्यसपछि भैरवनाथको रथ तानेर पहिलो दिनको जात्रा सुरु गरिन्छ । रथ तान्नुअगाडि भैरवनाथ मन्दिरमा भैरव नाइकेहरूले विधिवत् रूपमा बलि पूजा गरिसकेपछि भोज खाने चलन छ । त्यसपछि वेताल देवतालाई भैल खः को अग्रभागमा विराजमान गराइन्छ । मूल देवता भैरवनाथलाई भैल खः मा राखिसकेपछि हनुमानढोकाबाट ल्याइएको खड्ग र तलेजु भवानीको प्रसाद रथको अग्रभागमा विराजमान गराइन्छ । जात्राको पहिलो दिनलाई द्यः क्वह विज्याइगु अर्थात् देवता तल सवार हुने भनिन्छ । भैल खः मा १ जुसिजु, ६ भैल नाइके, ४ सिकर्मी र ४ चगुठी गरी १५ जना चढेर रथ तान्ने गरिन्छ । रथ तान्ने क्रममा अग्रभागमा ६ र रथको पछाडि भागमा ४ डोरी हुन्छन् । पहिलो दिन भैल खः तान्न र हेर्न हजारौं भक्तजन सहभागी हुन्छन् । होस्टे, हैंसे...भन्दै एकै लय र स्वरमा युवाले रथलाई दुवैतिरबाट तनातान गर्छन् । रथ तान्न तः मारी टोलबाट सुरु हुन्छ । तल्लो टोल र माथिल्लो टोलका युवाले रथलाई आफ्नोतिर लैजाने प्रयास गर्दै रथलाई तान्ने गर्छन् । रथ तल्लो टोलमा तः मारीबाट गःहिटी, नासमना, वंशगोपाल हुँदै तेखापुखु टोलसम्म लैजाने गरिन्छ । माथिल्लो टोलको साकोठा, सुकुलढोका, गोलमढी हुँदै दत्तात्रयसम्म लगिन्छ । रथ आफ्नो टोलमा लैजान सक्नेलाई विजयी भएको मानिन्छ । त्यसपछि पहिलो दिनको जात्रा समापन गर्न भैल खः लाई गःहिटी टोल पुर्‍याइन्छ । बेलुकी सम्पूर्ण देवगणलाई आ–आफ्नो देवगृहको आसनबाट तल विराजमान गराइन्छ । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छ ।  
 दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पुर्‍याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ । यसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।  बिस्काः जात्राको चौथो दिन अर्थात् वर्षको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको योसिं द्यः (ल्हामरु म्ह) उभ्याइन्छ भने साँझ योसिखेल टोलमा ५५ हात लामो योसिंद्यो उभ्याउन स्थानीय तयार हुन्छन् । गःहिटीमा रहेको रथलाई विधिवत् पूजा गरिसकेपछि रथ योसिंखेल पुर्‍याइन्छ । लिंगो अर्थात् योसिं द्यः उभ्याउनुअघि भैरव नाइकेहरूले भेडा बलि दिने चलन छ । योसिं द्यः लाई उभ्याउनुअघि विधिवत् पूजा गरिन्छ । अस्तमात्रिकाको प्रतीकका रूपमा रहेका ८ डोरीको सहायताले भक्तालुले ५५ हात लामो योसिं द्यः उभ्याउँछन् । भैरवनाथको प्रतीक मानिने योसिं द्यःको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । योसिं द्यःको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा, आकाश भैरवका ध्वजासमेत भनिन्छ । योसिं द्यः उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुने विश्वास गरिन्छ । योसिं द्यः उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । बिस्काः जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यो दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ । योसिं द्यः उठ्नासाथ वंशगोपाल टोलमा बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ । बिस्काः जात्राको पाँचौं दिन नयाँ वर्ष अर्थात् १ वैशाखमा लिंगो अर्थात् योसिं द्यः ढालिन्छ । त्यसलगत्तै खाला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई आपसमा जुधाउने परम्परा छ । यसलाई स्थानीय भाषामा द्यः ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । योसिं द्यः उभ्याउने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरेर आठ रात, नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालेको इतिहासविद् तथा संस्कृतिविद्हरू बताउँछन् । छैटौं दिन नगरको मध्यभागमा महाकाली र महालक्ष्मीको खट जुधाउने, सातौं दिन ब्रह्मयणी र महेश्वरीको तिप्वा जात्राका साथ खट जुधाउने गरिन्छ । आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा हुन्छ । यसलाई स्थानीय भाषामा द्यः स्वंगा बिइगु भनिन्छ । बिस्काः जात्राको अन्तिम दिन ५ वैशाखमा भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन गरिन्छ । यस दिनलाई स्थानीय भाषामा द्यः (देवता) थाहा बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यो दिन बिस्काः जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानिन्छ । स्थानीय टालाक्व टोलमा उभ्याइएको हात नभएको योसिं द्यःलाई पनि त्यही दिन बिहान ढालिन्छ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवी, गणेश, भैरव, कुमारीलगायतका देवदेवीको जात्राले नगर शोभायमान हुन्छ । संस्कृतिप्रेमी तथा त मारी टोलका बासिन्दा अनन्त धौभडेलका अनुसार सुरुमा बिस्काः जात्रा नकिजु अजिमाको मात्रै जात्रा थियो । उनका अनुसार काशी विश्वनाथ भैरव भक्तपुरको बिस्काः जात्रा हेर्न आउँदा तान्त्रिकले उनको टाउको हँसियाले काटे र त्यसलाई भक्तपुरमै राखियो । काशी विश्वनाथ भैरवलाई यही विराजमान गराउन तः मारी टोलमा भैरवको मन्दिर बनाइएको र भैल खः र नकिजु अजिमाको खट बनाएर बिस्काः जात्रा मनाएको धौभडेल बताउँछन् । 
संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल संवत् ५०० को तमसुकपत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ । भक्तपुर (तः मारी) टौमढीस्थित यक्ष मल्लको नेपाल संवत् ५६१ को शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ का राजा जितामित्र र भूपतिन्द्र मल्लका पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । श्रेष्ठका अनुसार तलेजुमा चल्ने बिस्काः जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ । यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार विसिक, बिस्कः हुँदै बिस्काः हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर बिस्केट हुन पुगेको हो । नेपालभाषामा अहिले पनि बिस्काः जात्रा भन्‍ने गरिएको उनी बताउँछन् । बिस्काः जात्रा भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको उल्लेख गर्दै श्रेष्ठ सर्प मारेको र नागनागिनीसँग जोडिएको किंवदन्ती भने भ्रममात्र रहेको बताउँछन् । उनका अनुसार यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीकका रूपम योसिं द्यःमा फहराइने एक जोडी हलिपत (ध्वजा) साक्षात् भैरव र भद्रकालीको हो । यसलाई जबजस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्‍ने अर्थमा बिस्क, बिस्काः, बिस्केत चल्दै आएको भन्ने भ्रम व्याप्त रहेको श्रेष्ठको तर्क छ । परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भयो । अन्य देवदेवीको समेत जात्रा पूजा गर्ने परम्परा बसाउन भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जगज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको छ । बिस्काः को मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसिं द्यः (लिंगो) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख संक्रान्तिको दिन उक्त योसिं ढाल्नु हो । बिस्काः जात्रा भक्तपुरको मात्र विशिष्ट सांस्कृतिक पहिचान नभई यो सम्पूर्ण मानवका लागि समृद्धि र सभ्यताको प्रतीक रहेको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । उनका अनुसार त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जंगल रहेकाले सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिंगो उठाउने गरियो र पछि एक जोडा ध्वजा थपियो । 
बिस्काः जात्राका लागि गुठी संस्थान भक्तपुर शाखाले बजेट व्यवस्थापन गरिदिन्छ । जात्रा अवधिमा विभिन्न मठमन्दिर, देवस्थलमा बलिका लागि पशुपन्छी तथा पूजा सामग्रीको व्यवस्था गर्ने जिम्मेवारी पनि गुठी संस्थानकै हो । जात्रा सम्पन्न भइसकेपछि पनि आवश्यक निरीक्षण गरेर पूजा गरी रथ भत्काउने र सामग्री सुरक्षित भण्डारण गर्ने काम पनि गुठी संस्थानले नै गर्छ । संस्थान भक्तपुर शाखाकी प्रमुख खिमा वलीका अनुसार भक्तपुरको बिस्काः जात्रा चलाउन ४ लाख रुपैयाँ वार्षिक रूपमा विनियोजन हुने गरेको छ । तर यो वर्ष जात्रामा २८ लाख ६४ हजार २ सय ६५ रुपैयाँ खर्च भएको थियो । बिस्काः जात्रा अमानत गुठीअन्तर्गत सञ्चालन हुँदै आएको संस्थानकी प्रमुख वलीको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति बिस्काः जात्रालाई पुर्खाले छोडेको भक्तपुरको अमूल्य मूर्त सम्पदा बताउँछन् । यो मूर्त सम्पदा जोगाउनकै निम्ति नगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको उनको भनाइ छ । ‘जात्रा शान्त र सुरक्षित तरिकाले मनाउन सद्भाव र्‍याली निकाल्ने, जात्रासम्बन्धी जनचेतना जगाउने र सरोकारवाला निकायलाई बोलाएर बैठक राख्ने गरिएको छ,’ उनी भन्छन्, ‘जात्रास्थलमा स्वयंसेवक तथा स्काउट परिचालन गर्ने, रुट सरसफाइ गर्ने, बाटाघाटा मर्मत गर्ने, सम्भावित दुर्घटना रोक्न तथा दुर्घटना भइहाले उपचारको प्रबन्ध मिलाउने जस्ता काम पनि गर्दै आएका छौं ।
बिस्काः जात्रालाई व्यवस्थित र मर्यादित बनाउन टौमढी युथ क्लब, कुमारी युवा क्लब र भैरवनाथ जात्रा व्यवस्थापन समिति खटिने गरेका छन् । टौमढी युवा क्लबका अध्यक्ष शिवराम भुजु पछिल्लो समय जात्राप्रति युवाको आकर्षण घट्दै गएको बताउँछन् । ‘जात्रा हेर्न आउने बढे पनि रथ तान्न र योसि द्यः उभ्याउन अघि सर्ने युवा घट्दै गएका छन्,’ उनी भन्छन्, ‘युवापुस्तामाझ जात्राको ऐतिहासिकता र महत्त्वबारे जानकारी दिन आवश्यक छ ।’ मध्यपुर थिमिको जात्रा बिस्काः जात्रा मध्यपुर थिमिमा पनि धुमधामसँग मनाइन्छ । मध्यपुर थिमिको बालकुमारी मन्दिर प्रांगणबाट २ वैशाखको बिहान सुरु हुने जात्रालाई स्विनिखः (बत्तीस खटको) जात्रा भनिन्छ । अहिले यस जात्रालाई सिन्दुर जात्रा पनि भनिन्छ । थिमिको बिस्काः जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो । यसलाई सुथसिया अर्थात् बिहानको जात्रा पनि भनिन्छ । यो दिन स्थानीय भक्तालुले एकअर्कालाई सिन्दुर दलेर जात्रा मनाउने गर्छन् । कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तीस खटको जात्रा भनिएको संस्कृतिविद्को भनाइ छ । तर अहिले यस जात्रामा १९ खटको सहभागिता हुने गरेको छ । यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नुपर्छ । नगदेशको सिद्धिगणेश आइसकेपछि एकापसमा सगुन साटासाट गरी जात्रा प्रारम्भ हुने परम्परा रहेकामा केही वर्षअघि भएको एक घटनाका कारण नगदेशको सिद्धिगणेश थिमि आउन बन्द भएको छ । बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरू चपाचोतर्फ लगिन्छ । त्यसपछि सिद्धिकाली गणका देवीदेवतालाई चपाचो क्षेत्रको परिक्रमा गराइन्छ । बालकुमारी र विष्णुवीर गणका देवताहरू दिगुटोलबाट फर्काई निगुपुखु, इनायलाछी, दथुटोल, मरुटोलको परिक्रमा पछि लायकुमा खट बिसाएर जात्रा समापन गरिन्छ । १ वैशाखकै दिन दक्षिण बाराही जात्रा, सिद्धिकाली गण जात्रा, विष्णुवीर गण जात्रा तथा १ र २ वैशाखमा नगदेशमा सिद्धिगणेश जात्रा मनाइन्छ । 
 मध्यपुर थिमि बोडेमा २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । श्रेष्ठ थरका स्थानीय एक युवाको जिब्रो छेडेर यो जात्रा मनाउने गरिन्छ । जिब्रो छेड्ने जात्रा स्थानीय पाचो गणेशको पूर्वपट्टि रहेको मञ्चमा सुरु गरिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र महिलालाई छुन नहुने परम्परा छ । जिब्रो छेडिसकेपछि नायोखिं बाजा बजाउँदै चन्द्राकारको महाद्वीप बोकेर जिब्रो छेडिएको व्यक्तिले नगर परिक्रमा गर्छन् । परिक्रमापछि स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन्, जहाँ पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकाल्छन् । प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिइन्छ । सुइरोलाई गणेश मन्दिरमा ठोकिन्छ । जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गर्छन् ।