मिहिनताले भरिएका प्रदीप गिरि
शक्ति तथा पदीय जिम्मेवारीमा अडिन रहन नसक्नु, शक्ति सञ्चय तथा उपयोगमा खासै ध्यान नदिनु, वैचारिक मतभेद तथा समझदारीमा अडिग रहनुजस्ता विशेषताकै कारण गिरीका आदर्शमा विकर्षण आएका छैनन् र आउने पनि छैनन् ।
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेजस्तै प्रजातन्त्र निरपेक्ष रूपमा वाक् शक्तिको परीक्षण गर्ने प्रणाली हो । अर्कोतर्फ प्रजातन्त्रमा पूर्ण रूपमा पृष्ठपोषण र आलोचनाको अभ्याससमेत गरिन्छ । यी दुवै स्वरूपका पर्याय तथा उदाहरणका रूपमा लिन सकिन्छ, प्रदीप गिरीलाई ।
नेपालको सन्दर्भमा बीपी कोइरालाले प्रादुर्भाव गरेको प्रजातान्त्रिक समाजवादका एक कुशल व्याख्यातासमेत थिए गिरी । विविध औपचारिक तथा अनौपचारिक फोरमहरूमा गिरी भन्ने गर्थे– ‘म मार्क्सवादी हुँ ।’ नेपाली कांग्रेसको सिद्धान्तका हिमायती एवं कुशल व्याख्याता बन्दाबन्दै पनि प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अँगालेर अघि बढ्न सक्नु एक हिसाबले कठिन नै थियो । तर, गिरीले त्यो धारमा मार्क्सवादलाई प्रजातन्त्रसँग जोडेर समाजवादी विचार मन्थन गर्न थाले । जुन पछिल्लो समय नियो मार्क्ससिजमसमेतले स्वीकार गर्न थालेको छ ।
प्रदीप गिरीका परम मित्र जो वनारस हिन्दु विश्वविद्यालयका प्राध्यापक, गान्धीयन इन्स्टिच्युट अफ स्टडिजका निर्देशकसमेत रहेका दीपक मल्लिक भन्छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलन तथा रूपान्तरणमा वैचारिक हिसाबले गिरीभन्दा परका अन्य नेता नै देखिन्नन् । विश्लेषणमा तेज, विचारका हिसाबमा नो कम्प्रमाइज । आधुनिकताका हिसाबले गिरी दोस्रो पुस्ताका नेता लाग्छ, जसमा कठिनतासमेतमा गुनासो नगर्ने क्षमता थियो ।’
माझ्दा अरू क्षय हुन्छन्, प्रदीप गिरी थप चम्किन्छन् । वास्तवमा यही हो उनको कार्यकारी विचारको नवीनतम् गहना । सिरहाबाट चुनाव हार्दै गर्दा ‘ईश्वरले मलाई कठिनताबाट बचाए’ भनेको कुरा अहिले पनि सम्झन्छु । यसमा उनको थप स्पष्टीकरण थियो, ‘जित्दा मैले मन्त्री बन्नैपर्ने असहजता थियो, मन्त्री मेरो रहर थिएन ।’
जुन बेला उनी ब्लाडर क्यान्सरबाट पीडित भएर अस्पतालको बेडमा थिए । ‘केटो विद्रोही बन्नै सकेन’ मप्रति लक्षित उनको भनाइ थियो । लाग्यो, शारीरिक पीडाभन्दा पनि विद्रोहमा रमाउने कस्ता पात्र रहेछन् ! मेरो मनले भित्रभित्रै भन्यो । उनलाई भएको ब्लाडर क्यान्सरबारे थोरै मान्छेलाई मात्र थाहा थियो, जुन पछि निको भयो ।
बेजोड लेखनले फलदायी प्रस्थान खोजेको उनको शैलीले झल्काउने एक विशेषतासमेत हो । सामाजिकताको उदाहरण उनको आश्रम सिरहामा रहँदा बस्दा थप महसुस हुन्थ्यो । हिजाआजसमेत त्यो आश्रम भ्रमण गर्दा एक प्रकारको समाजवादी माटोको निखार झल्किन्छ । त्यहाँ पुग्दा सामाजिकता, बीपीले भनेजस्तै नेपाली किसान वर्गको श्रम र लेनिनले उल्लेख गरेजस्तै परिवार, निजी सम्पत्ति र राज्यको भूमिकाबारे लगभग ज्ञात हुन्छ । सायद यसैलाई भनिन्छ होला, बीपीले कल्पना गरेको र गिरीले व्याख्या गरेको समाजवादको झल्को ।
गिरीको राजनीतिक चेतनाको तह बीपीले भनेजस्तै नेपाली माटोमुखी थियो । असमझदारीमा जोकोहीको समेत आलोचना गर्न नछाड्ने उनको प्रकृति प्रजातान्त्रिक थियो भन्दा फरक पर्दैन । विद्यार्थीकालमा सिरहाको एक क्याम्पसमा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा बीपी कोइरालाबारे गतिलै आलोचनात्मक टिप्पणी गरेको सुनेका धेरैले त्यतिबेलै गिरीको अध्ययन र विषयवस्तुमाथिको पकडबारे परख गरेको हुनुपर्छ । सो समयका जल्दाबल्दा नेता बीपीलाई टक्कर दिनु भनेको चानचुने कुरो थिएन । वास्तवमै कुनै पनि शक्तिको पछि नलाग्ने गिरीको यो विशेषता अद्भुत र सर्वप्रिय थियो । यही अद्भुतताले गर्दा नै उनीसँग सैद्धान्तिक बहस तथा विचार मन्थन गर्न जोकोही पनि एक पटक हचकिन्थ्यो । गिरीका सोच वस्तुपर्यन्त छन् । नेपालका वामपन्थीलाई समेत मार्क्सवादबारे प्रशिक्षण दिने गिरीका सोचलाई निर्णयमा पुर्याउने कर्तव्य केवल प्रजातान्त्रिक शक्तिको मात्र नभएर साम्यवादी शक्तिको पनि हो ।
भारतको समाजवादी आन्दोलनमा सरिक भई त्यसलाई नजिकबाट नियालेका गिरी भारतीय समाजवादी चिन्तकहरू जयप्रकाश नारायण, राममनोहर लोहिया आदिसँग निकट थिए । तर प्रभाव भने महात्मा गान्धी, बीआर अम्बेडकर आदिको थियो । यतिमात्र हैन, उनी मार्क्स, एंगेल्स, रोजा लक्जेम्वर्ग, म्याक्स बेवर आदिबाट उत्तिकै प्रभावित थिए । यसका साथै राजनीति, दर्शन, अर्थशास्त्र, धर्म, कला आदिसमेतको सोख भएको कुरा उनका विविध विचारबाट स्पष्ट हुन्छ । समाजवादी मेलोमै सन् २००५ मा उनले मंगोलियाको राजधानीमा दिएको अभिव्यक्तिलाई धेरैले प्रशंसा गरेको पाइन्छ ।
व्यापक समाज निर्माण र विकासबारे घनिभूत बहस गर्न मन पराउने गिरी समाज विकासका चरण र अध्यायमा हेगेलबाट ज्यादै प्रभावित थिए । उनका छलफल व्यक्तिकेन्द्रित कम– टोल, गाउँ, समाज हुँदै राज्यसम्म पुग्नुपर्छ भन्ने हेतुका हुन्थे । म्याग्नाकार्टा, फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम हुँदै भारतको स्वतन्त्रता संग्रामले नेपालजस्तो मुलुकमा पारेको प्रभाव र सोको दूरगामी महत्त्वलाई नेपालजस्ता मुलुकले कसरी ‘क्यास’ गर्ने भन्ने उनको बहसको मेलोलाई पक्रन जोकोहीलाई अप्ठ्यारो पर्थ्यो ।
विषयवस्तुमाथिको सूक्ष्म विश्लेषण चिन्तक प्रदीप गिरीका विशेषतामध्येको एक हो । वैचारिक कोणको मिहीनता र सान्दर्भिकता उनका क्षमता थिए । साधारण हिसाबमा मनका विचार वा विश्लेषण सहज ढंगले बुझाउन सक्ने उनको क्षमताको कदर नगर्ने कमै होलान् । विषयवस्तुमाथिको रुझानले गर्दा गहन एवं बृहत् कुरालाई पनि मसिनो र सबैले बुझ्ने हिसाबमा फेहरिस्त नबाँधीकन भन्न सक्नु राजनीतिज्ञ प्रदीप गिरीको एक प्रकारको क्षमता नै थियो ।
जागरणलाई चेतनाको दृष्टिकोणबाट अवलोकन गर्ने गिरी सन् १९९० को दशकमा विकास भएको विश्वव्यापीकरणका कुशल हिमायती थिए । यो हुनु स्वाभाविकसमेत थियो । किनकि, उनको ज्ञानको दायरा भारतको नयाँदिल्ली, बनारसबाट नै विस्तारित भएको थियो । विश्वव्यापीकरणको पछिल्लो समयको विकासलाई स्वाभाविक र स्वतःस्फूर्त भन्ने गिरी यसका डायस्पोरा थप बृहत् बन्नुपर्दछ भन्ने मान्यता राख्थे । ससाना स्कुले र विश्वविद्यालयका विद्यार्थीमाझ गिरी थप खुल्थे । यसमा उनको भनाइ हुन्थ्यो, विद्यार्थी वर्ग मुलुकका गहना भएकाले यिनीहरूलाई पनि गरगहनझैं माया र सद्भाव राख्नुपर्छ ।
मुलुकको राजनीतिक विकासक्रमलाई मुलुक विकासको प्रमुख मापदण्ड मान्ने गिरीको अद्वितीय क्षमतालाई अनेक राजनेतासमेतले सहजै स्विकारेका छन् । उनको यस्तो इतिहास केवल नेपालमा मात्र सीमित नभई भारतसम्म पनि फैलिएको थियो । यसै कारण पनि भारतका विद्यमान नेता तथा प्रबुद्ध वर्गले प्रदीप गिरीको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ ।
वर्तमानमा रहेर भविष्यको आरामदायी भाष्य निर्माण गर्नु सबैको चाहना हुन्छ । गान्धीवादको असीमित आयामबारे विवेचना गर्न सक्नु, मार्क्सवादको दर्शनमा अडिग रही यसको विशाल अनुपममा रमाउन सक्नु, गीता तथा रामायणका बेगिला कल्पनालाई सविस्तार वर्णन गर्न सक्नु, जयप्रकाश नारायण र लोहियाको असीम समाजवादका परिकल्पना तथा यथार्थलाई मूर्त रूप दिन लागिपर्नु, हेगेलको समाज विकासका चरणलाई चरमताको कोणले समाउन सक्नु तथा बीपी स्वयंको विचारमा मतभेद राखी डायलगमा सामेल हुनु गिरीको महानता मात्र नभई ग्रहण गर्ने र नगर्ने शक्तिमा परीक्षण गर्नुसमेत हो । यसबाट गिरीको महानता पनि झल्कन्छ । शक्ति तथा पदीय जिम्मेवारीमा अडिन रहन नसक्नु, शक्ति सञ्चय तथा उपयोगमा खासै ध्यान नदिनु, वैचारिक मतभेद तथा समझदारीमा अडिग रहनुजस्ता विशेषताकै कारण गिरीका आदर्शमा विकर्षण आएका छैनन् र आउने पनि छैनन् ।