नेपालको भूराजनीति र अझै सान्दर्भिक पृथ्वीनारायण शाहको उपदेश

एशिया: एक नयाँ शक्ति सन्तुलनतर्फ

गत एक दशकमा, एशिया विश्वको सबैभन्दा गतिशील भूराजनीतिक केन्द्र बनेको छ र यो क्रम आउने समयमा अझ बढ्ने छ। हिन्द–प्रशान्त क्षेत्र आज अमेरिकाको एटलान्टिक क्षेत्रभन्दा बढी प्रभावशाली बन्दै गएको छ। जहाँ चीनको  आर्थिक र भूराजनीतिक प्रभाव बढ्दो छ भने त्यसको काउन्टरमा अमेरिका पनि रणनीतिक हिसाबले आफ्नो प्रभाव कायम राख्न चाहन्छ।

भारतको उदय, रुसको आफ्नो पुरानो बर्चस्व कायम गर्ने प्रयास, एशियाका अरु राष्ट्रहरुले पनि कुनै एक पक्ष्यसंग लाग्नु भन्दा पनि अन्तरास्ट्रिय स्तरमा सन्तुलन खोज्ने प्रयासले नयाँ विश्व व्यवस्था – बहुध्रुवीय विश्व निर्माण भईरहेको छ। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI), अमेरिका नेतृत्वको हिन्द–प्रशान्त रणनीति, भारतको “Act East Policy”, र रुसको पूर्वमुखी ऊर्जा तथा सैन्य कूटनीतिले एशियाली क्षेत्रमा नयाँ भूराजनीतिक आयामहरू उत्पन्न भएको छन्।  

यो सबै भूराजनीतिक समीकरणको खेलको बीच दुइटा विशाल र उदयमान शक्ति राष्ट्रहरुको बीच रहेको नेपाल रणनीतिक दृष्टिले अब केन्द्रमा आइपुगेको छ। शीत युद्धको अमेरिका र तत्कालिन सोवियत संघको दुइ ध्रुवीय प्रतिस्पर्धामा पनि नेपालको भौगोलिक रणनीतिक महत्व थियो तर त्यसबेला भन्दा पनि अहिलेको बहुध्रुवीय भूराजनीतिमा नेपालको महत्व झन् बढेको छ। यो बढेको महत्वलाई नेपालले कसरि शक्ति राष्ट्रहरुसंग सन्तुलन मिलाउदै राष्ट्रिय स्वार्थलाइ पुरा गर्छ त्यो गम्भीर र महत्वपुर्ण प्रश्न छ।  

नेपालको रणनीतिक भूगोल: एक अवसर र बोझ

नेपालको भूगोल, जनसंख्या, अर्थतन्त्र र सैन्य सामर्थ्य तुलनात्मक रुपमा कमजोर भएपनि नेपालको भौगोलिक स्थितिले गर्दा भूराजनीतिक महत्व धेरै छ। हिमालयले चीन र भारतीय उपमहाद्वीप बीच प्राकृतिक अवरोध र पुल दुवैको रूपमा काम गरेको हुनाले, नेपालले बेइजिङ र नयाँ दिल्ली दुवैका लागि निक्कै रणनीतिक महत्व राख्छ। भारतसँगको खुल्ला सीमाना र चीनसँग बढ्दो आर्थिक र राजनीतिक सम्बन्धले नेपाललाई शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र सूक्ष्म कूटनीतिको स्थल बनाएको छ। चीनले बीआरआई लगानी र ‘सफ्ट पावर’ मार्फत नेपालको पूर्वाधार, प्रविधि र सुरक्षा क्षेत्रमा प्रवेश गरेको छ। यसैबीच, ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धको बलमा भारत नेपालको राजनीति र जनमानसमा गहिरो रूपमा पहिला बाटनै स्थापित छ। संयुक्त राज्य अमेरिका र युरोपले आर्थिक सहायता, जलवायु सहयोग, र बढ्दो रूपमा, चीन-विरोधी रणनीतिक संवादहरू मार्फत आफ्नो उपस्थिति बढाएको अवस्था छ।

तर यस भूराजनीतिक खेलमा शक्ति राष्ट्रहरुको “मोहरा” मात्र बन्ने डरले नेपालले सावधानीपूर्वक कदम चाल्नुपर्छ। शक्ति सन्तुलनमा नेपालको अनुभव नयाँ भने  होइन – नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायण शाहका अन्तरास्ट्रिय सम्बन्ध, कुटनीति र भूराजनीतिको २५० बर्ष पहिलाको  शिक्षाहरू अहिलेको समयमा अझ सान्दर्भिक र अनुसरण योग्य भएका छन्।  

पृथ्वीनारायण शाहको कूटनीतिको सान्दर्भिकता

१८ औं शताब्दीमा नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहले आफ्नो नवनिर्मित राज्यलाई “दुई ढुङ्गा बीचको तरुल” को रूपमा वर्णन गरेका थिए। रणनीतिक र दार्शनिक सल्लाहको संग्रह – ‘दिव्यउपदेश’, ऐतिहासिक दस्तावेजको रूपमा मात्र होइन वर्तमान र भविष्यको लागि पनि उतिनै सान्धर्विक र नेपालको अन्तरास्ट्रिय सम्बन्ध र कुटनीतिको लागि मुख्य मार्गदर्शनको रुपमा छ भन्दा अतिशयोक्ति हुदैन।  

नेपाल जस्तो भूपरिवेष्ठित देश त्यो पनि दुइटा भौगोलिक र आर्थिक रुपले विशाल छिमेकीका लागि सन्तुलित कूटनीतिक र रणनीतिक भूराजनीति अवलम्बन गर्न अपरिहार्य छ। नेपालको भौगोलिक अवस्था धेरै संवेदनशील छ र राष्ट्र सञ्चालन गर्दा अन्तर्राष्ट्रिय सम्बन्धको सही ज्ञान हुनुपर्छ भन्नेमा पृथ्वीनारायण शाह सचेत थिए भन्ने पढ्दा प्रस्ट छ।

उनले ‘दिव्योपदेश’ मा नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को रूपमा चित्रण गरेका छन्, जसले उत्तरमा चीन र दक्षिणमा बेलायती साम्राज्यलाई संकेत गर्छ। उनको सुझावमा ‘चीनका सम्राटसँग मित्रताको सन्धि कायम राख र दक्षिणी समुद्रका सम्राटसँग पनि’ , अरु राष्ट्रभन्दा दुइटा छिमेकीलाई खुशी बनाउँदै सन्तुलित छिमेक नीतिनै नेपालको हितमा हुन्छ भन्ने धारणा राखे।

छिमेकीको तुलनामा नेपाल भौगोलिक र आर्थिक रुपले सानो भएको कारण राष्ट्रको सार्वभौमिकता जोगाउन आक्रामकभन्दा रक्षात्मक रणनीतिमा जोड दिएका छन्। चतुर कूटनीति भनेकै व्यावहारिक कूटनीति हो भन्नेमा पृथ्वीनारायण शाहको जोड देखिन्छ। यस्तो व्यावहारिक, सन्तुलित र नेपाल केन्द्रित कूटनीतिको वर्तमान नेपालमा व्यापक अभाव छ। राष्ट्रको दूरगामी हितका लागि कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ‘पृथ्वीपथ’ को बाटो अवलम्बन गर्नुपर्छ।

वास्तविकतामा राजनीतिद्वारा संचालित संसारमा, जहाँ सम्बन्धहरु द्रुत गतिमा परिवर्तन हुन्छन्, असंलग्नता, राष्ट्रिय आत्मनिर्भरता र सतर्क कूटनीति सम्बन्धी पृथ्वी नारायण शाहको भनाइ दूरदर्शी देखिन्छ।

असंलग्नतामा: पृथ्वी नारायण शाहले आफ्ना उत्तराधिकारीहरूलाई कुनै पनि एक शक्तिसँग धेरै नजिकबाट पङ्क्तिबद्ध नहुन सल्लाह दिएका थिए। पररास्ट्र मामिलामा उनको असंलग्नताको नीतिले  २० औं शताब्दीको अमेरिका र सोवियत संघको इतर राष्ट्रहरुले शुरु गरेको Non-Aligned Movement (NAM)  को पूर्वचित्रण गर्‍यो। आज, अमेरिका र चीनको प्रतिस्पर्धा व्यापक हुँदै जाँदा कुटनीति र परराष्ट्र सम्बन्ध सन्तुलित र नेपालको हीत केन्द्रित हुनुपर्छ। जसमा असंलग्नताको नीति अपरिहार्य छ।  

राष्ट्रिय एकता: पृथ्वी नारायण शाहको अनुसार आन्तरिक एकता कमजोर हुँदा मात्र बाह्य शक्ति राष्ट्रहरुले चलखेल गर्ने मौका पाउछन। उनले राष्ट्रिय एकता र राजनीतिक नेताहरुको नैतिकतामा जोड दिए। नेपालको राजनीति खंडित र बाह्य प्रभावको लागि संवेदनशील रहेको समयमा, यो पाठ विशेष गरु नीति निर्माताहरुले मनन गर्न जरुरि छ।

सीमा सुरक्षा र सार्वभौमिकता: सीमाहरू सुरक्षित गर्ने, व्यापार मार्गहरू राष्ट्रको नियन्त्रणमा राख्ने र स्वदेशी सैन्य क्षमता कायम राख्नेमा पनि शाहको जोड थियो। कहिले पनि कसै माथि आक्रामक नहुने तर आफ्नो सैन्य संरचनालाई आधुनिकीकरण गर्दै जहिले तयार अवस्थामा बस्नेमा उनको जोड थियो। विशेष गरु दुइ छिमेकिलाइ सन्तुलन र खुशी राख्नुमा नै नेपालको दिर्घकालिन हीत छ भन्नेमा उनको उपदेशमा प्रस्ट छ।  

विदेशी हस्तक्षेपविरुद्ध चेतावनी: पृथ्वी नारायण शाहले ब्रिटिश इस्ट इन्डिया कम्पनी प्रति ठुलो शंका व्यक्त गरेका थिए। उनले भनेका थिए: “फिरङ्गीहरू व्यापारको बहानामा देशमा पस्न खोज्छन्, एकपटक पस्न दिए पछि उनीहरूले देश नै लुट्नेछन्।”यो विचारले उनले उपनिवेशवादको रणनीति—प्रथम व्यापार, त्यसपछि नियन्त्रण—लाई पहिचान गरिसकेको देखाउँछ। उनले व्यापारलाई पूर्ण रूपमा नकारेका होइनन्, तर राजनीतिक हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। शाहको दृष्टिकोण पृथकतावादी हुने थिएन। उनले विश्वका अरु राष्ट्रहरुसंग संलग्न हुदै नेपालको भूराजनीति र कुटनीति आत्मसम्मानको स्थितिबाट निर्देशन हुनु पर्छ भन्ने कुरामा जोड दिएका थिए।  

नेपालको कूटनीतिक सिद्धान्त: संलग्नता र सन्तुलन बीच

२०२५ मा, नेपालको विदेश नीतिलाई सन्तुलनको खोजीको रूपमा हेर्न सकिन्छ। नेपाल चीनको नेतृत्वमा रहेको BRI को हिस्सा पनि हो तर  BIMSTEC र अमेरिका समर्थित MCC कम्प्याक्टसँग पनि सक्रिय रूपमा संलग्न छ। नेपालले एसिया र बाहिर गहिरो द्विपक्षीय सम्बन्ध खोज्दै संयुक्त राष्ट्र संघको नेतृत्वमा रहेको बहुपक्षीय प्रणालीलाई समर्थन गर्दछ। तैपनि, नेपाल भित्रको राजनीतिक अस्थिरता, कुटनीतिक आयोगमाहरुमा स्वार्थ केन्द्रित राजनीतिक नियुक्ति, परराष्ट्र मन्त्रालयमा लगातारको असक्षम नेतृत्व र प्रमुख राजनीतिक दलहरुको पररास्ट्र नीति र कुटनीतिमा एकरुपताको अभावले भूराजनीतिमा नेपालले आफ्नो हीत केन्द्रित परराष्ट्र नीति अवलम्बन गर्न नसकेको अवस्था प्रस्ट छ।  

चीनले पूर्वाधार र ‘डिजिटल निगरानी‘ को पहलहरू मार्फत आफ्नो पकड बलियो बनाउन खोजेको छ। भारत चिनिको आक्रामक नेपाल नीति बारेमा शंकास्पद दृष्टिकोण राख्छ र असुरक्षित महसुस गर्छ । संयुक्त राज्य अमेरिकाले नेपाललाई चीनसँगको भूरणनीतिक प्रतिस्पर्धाको रूपमा हेर्छ जुन अन्तरराष्ट्रिय सम्बन्ध र भूराजनीतिक घटनाक्रमले स्पष्ट छ।

भूराजनीतिक खेलमा शक्ति राष्ट्रहरुको “मोहरा” मात्र बन्ने डरले नेपालले सावधानीपूर्वक कदम चाल्नुपर्छ। शक्ति सन्तुलनमा नेपालको अनुभव नयाँ भने  होइन – नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायण शाहका अन्तरास्ट्रिय सम्बन्ध, कुटनीति र भूराजनीतिको २५० बर्ष पहिलाको  शिक्षाहरू अहिलेको समयमा अझ सान्दर्भिक र अनुसरण योग्य भएका छन्।  

एसियाको परिवर्तनशील परिदृश्य केवल केहि शक्ति राष्ट्रहरुले मात्र परिभाषित गर्दैनन्। जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, साउदी अरेबिया, इजरायल, भियतनाम र अष्ट्रेलिया जस्ता मध्यम शक्तिहरूले पनि क्षेत्रीय सुरक्षा र अन्तरराष्ट्रिय व्यापारलाइ आकार दिन ठूलो भूमिका खेलिरहेका छन्। जलवायु परिवर्तन, हरित ऊर्जा, विपद् उत्थानशीलता र डिजिटल शासन-विधि जस्ता मुद्दाहरूमा यी मध्यम शक्तिहरूसँग राष्ट्रिय हीत अनुकुल हुने गरि सम्बन्ध र समन्वय गर्न आवश्यक छ। हिमनदीहरू पग्ली रहेको अवस्था, अनियमित मनसुन र बढ्दो ऊर्जा आवश्यकताहरूको साथ जलवायु परिवर्तनको लागि अत्यधिक जोखिममा रहेको देशको रूपमा नेपालले हिमालय क्षेत्रमा जलवायु कूटनीतिको नेतृत्वदाई भूमिकाको रूपमा आफूलाई स्थापित गर्न सक्छ र गर्नु पर्छ।

त्यसकारण, नेपालले भूराजनीतिको जानकारहरुले भनेको जस्तै रणनीतिक ‘हेजिङ‘ अपनाउनु पर्छ जसमा अरु राष्ट्र माथि राजनीतिक निर्भरता सीमित गर्दै आर्थिक सम्बन्धलाई गहिरो बनाउने, बहुपक्षीय सम्बन्ध विस्तार गर्ने र वैचारिक तटस्थता कायम राख्ने। यी सबै रणनीतिक ‘हेजिङ‘ को नीतिहरु पृथ्वी नारायण शाहको अन्तरराष्ट्रिय सम्बन्ध र कुटनीति अध्यन गर्यो भने उनले २५० बर्ष पहिलानै राष्ट्रको लागि मार्गदर्शन गरेको रहेछन।

यदि नेपालले एसियाली भूराजनीतिको बीचमा आफ्नो मौलिक सार्वभौम मार्ग तय गर्ने हो भने, नेपालले पृथ्वी नारायण शाहको रणनीतिक सोचलाई पुनर्जीवित र पुनर्व्याख्या गर्नुपर्छ। जस्तै, 

क) गतिशील तटस्थता र भूरणनीति:कुनै पनि सुरक्षा गठबन्धनबाट दृढ स्वतन्त्रता कायम गर्दै विश्वव्यापी चुनौतीहरूमा रचनात्मक संलग्नता राख्दै नेपालको भूरणनीतिक हीतलाइ प्राथमिकता।  

ख) नीति र राष्ट्रिय हीत:परराष्ट्र नीति र कुटनीतिमा सबै राजनीतिक दलको नीतिमा एकरुपतामा आवश्यक। कुटनीतिक नियुक्ति र अन्तरराष्ट्रिय सन्धि/सम्झौतामा दलगत वा व्यक्तिको स्वार्थ होइन राष्ट्रिय हीत मात्र।  

ग)विवेकपूर्ण कुटनीति:नेपालको परराष्ट्र सेवालाई व्यावसायिक र प्रभावकारी बनाउदै अध्ययन/अन्वेषणमालाइ ध्यान दिदै व्यापार सम्बन्धि वार्ता/सन्धि गर्ने क्षमताको अविवृद्धि गर्ने।  

घ) रणनीतिक पूर्वाधार: ‘कनेक्टिभिटी‘ र पूर्वाधारका परियोजनाहरूले बाह्य शक्तिहरूको महत्वाकांक्षाद्वारा निर्देशित होइन राष्ट्रिय हीतको सुनिश्चिततामा जोड दिने।  

निष्कर्षमा, नेपालले आफ्नो संस्थापक राजाको बुद्धिमत्तालाई आत्मसात गरेर, व्यावहारिक कुटनीति र पररास्ट्र नीतिमा एकरुपता तयार गरेर नेपाल शक्ति राष्ट्रको क्रिडा स्थल मात्र होइन आफ्नो भूगोलको रणनीतिक फाइदा उठाउदै विश्व सामु सशक्त रुपमा प्रस्तुत हुन सक्छ। एसिया परिवर्तन हुँदै जाँदा, नेपाल पछि पर्नु हुदैन, तर सन्तुलन, दूरदर्शिता र आफ्नै राष्ट्रिय मौलिकतामा आधारित भएर विश्वमा एउटा अद्वितीय राष्ट्रको रुपमा उदाउन सक्ने सामर्थ्य राख्ने सक्नु पर्छ।