पुटिनद्वारा प्रधानमन्त्री ओलीलाई रुस भ्रमणको ‘दुर्लभ’ निम्तो

काठमाडौँ । चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणका लागि औपचारिक निम्तो दिएका छन्। नेपालका प्रधानमन्त्रीलाई सो स्तरको निम्तो आउनु दुर्लभ अवसर मानिएको छ।

शिखर सम्मेलनको अवकाशमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पुटिनले नेपाल–रुस सम्बन्धलाई ऐतिहासिक सहकार्यमा आधारित रहेको उल्लेख गरे। उनले भने, “हाम्रोबीच कुनै समस्या छैन। अन्तर्राष्ट्रिय विषयहरूमा पनि नेपाल र रुसको अडान नजिकै रहेको छ।”

राष्ट्रपति पुटिनले सन् १९५६ मा स्थापना भएको नेपाल–रुस कूटनीतिक सम्बन्धले आगामी वर्ष ७०औं वर्ष पूरा गर्न लागेको उल्लेख गर्दै सन् २०२६ लाई विशेष वर्षका रूपमा मनाइने जानकारी गराए। उनका अनुसार सो अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा योजना अघि बढाउनेछन्।

प्रधानमन्त्री ओलीले पनि नेपाल–रुस सम्बन्धलाई दीर्घकालीन मैत्रीपूर्ण सहकार्यका आधारमा थप सुदृढ बनाउन नेपाल तयार रहेको बताए। उनले पुटिनको निम्तोलाई स्वागत गर्दै आगामी उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

राजनीतिक विश्लेषकहरूले पुटिनको यो पहललाई नेपालको लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिरहेका छन्। विशेषगरी नेपालले पछिल्ला वर्षहरूमा छिमेकी मुलुकहरूसँग मात्र नभई अन्य ठूला शक्तिहरूसँग पनि सम्बन्ध सन्तुलन गर्न खोजिरहेको अवस्थामा रुसबाट आएको निम्तोलाई सकारात्मक सन्देशका रूपमा हेरिएको छ।