२०३० सम्म चन्द्रमामा न्यूक्लियर रियाक्टर बनाउने NASA को तिव्र योजना
NASA ले अन्तरिम प्रशासक सीन डफीको नयाँ निर्देशनअन्तर्गत २०३० सम्म चन्द्रमामा न्यूक्लियर रियाक्टर निर्माण गर्ने योजना तिव्र गतिमा अघि बढाइरहेको छ।
यो योजना अन्तरिक्षमा न्यूक्लियर ऊर्जा विस्तार गर्ने दशकौँ पुरानो सपना पुनः जागृत गर्दैछ, जसले भविष्यका सम्भावनाहरूको ढोका खोल्ने मात्र होइन, बाह्य अन्तरिक्षका स्रोत र वातावरणको प्रयोगसम्बन्धी कानुनी तथा नियामक ढाँचा पनि परीक्षण गर्नेछ।
डफी, जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यातायात सचिव समेत हुन्, यसलाई नयाँ चन्द्र प्रतिस्पर्धामा जित्नै पर्ने लक्ष्यका रूपमा वर्णन गर्छन्। उनको भनाइमा, "मार्च २०२४ देखि चीन र रसियाले कम्तीमा तीन पटक संयुक्त रूपमा २०३० को दशकको बीचमा चन्द्रमामा रियाक्टर राख्ने योजना घोषणा गरिसकेका छन्।" उनी थप्छन्, "पहिलो देश जसले यस्तो गर्छ, उसले सम्भवतः 'कीप-आउट' क्षेत्र घोषणा गर्न सक्नेछ, जसले अमेरिका लाई योजनाबद्ध आर्टेमिस उपस्थितिलाई अघि बढाउन गम्भीर बाधा पुर्याउन सक्छ, यदि हामी त्यहाँ पहिला पुगेनौं भने।"
यो निर्देशनले व्यावसायिक साझेदारहरूसँग मिलेर पाँच वर्षभित्र चन्द्र दक्षिण ध्रुवमा १०० किलोवाट क्षमताको सञ्चालनयोग्य रियाक्टर डिजाइन, प्रक्षेपण र स्थापना गर्ने रोडम्याप तयार गरेको छ। तुलना गर्नका लागि, १०० किलोवाटले करिब ८० अमेरिकी घरलाई बिजुली दिन सक्छ। यो शक्ति स्तर मंगल ग्रहका रोभर वा स्पेस प्रोबहरूले प्रयोग गर्ने सयौँ वाट क्षमताका रेडियोआइसोटोप जनरेटरहरूभन्दा निकै ठूलो हो।
अन्तरिक्ष ऊर्जामा क्रान्ति
पूर्व NASA प्राविधिक नीति प्रमुख भव्या लालका अनुसार, चन्द्रमामा न्यूक्लियर रियाक्टर राख्नु “केवल चन्द्रमाको लागि मात्र होइन, सम्पूर्ण सौर्यमण्डलका लागि परिवर्तनकारी” हुनेछ। उनले तुलना गर्दै भनिन्, "यो त्यस्तै हो, जब पृथ्वीमा समाजहरू मैनबत्तीबाट विद्युत् ग्रिडमा पुगे।"
ब्याङ्गर विश्वविद्यालयका न्यूक्लियर सामाग्री विशेषज्ञ प्रोफेसर साइमन मिडलबर्गका अनुसार, “चार वर्षभन्दा केही बढी समय निकै तिव्र हो, तर प्रविधि उपलब्ध छ।” विगतमा प्रविधि नभएर होइन, माग र राजनीतिक इच्छाशक्तिको कमीले यस्तो योजना अघि बढेको थिएन। अहिले भने त्यो गणित बदलिँदैछ।
भव्या लाल भन्छिन्, “अन्तरिक्षमा न्यूक्लियर शक्ति प्राथमिक स्रोतको रूपमा प्रयोग गर्ने नीति NASA ले पहिलो पटक औपचारिक रूपमा तय गरेको गत वर्ष नै ठूलो मोड थियो। यसले नीति स्पष्टता ल्यायो। निजी क्षेत्र पनि केवल प्रयोगकर्ता मात्र होइन, प्रदायक बन्ने चाहना राख्दैछ।”
रणनीतिक प्रतिस्पर्धा र जोखिम
NASA को आर्टेमिस कार्यक्रमले चन्द्र दक्षिण ध्रुवमा स्थायी आधार राख्ने र पछि मंगल यात्रा गर्ने प्रविधि विकास गर्ने लक्ष्य राखेको छ। तर यो क्षेत्रमा तापक्रम दिनमा करिब १००°C र रातमा लगभग शून्य केल्भिन (−२७३°C) पुग्ने भएकाले स्थायी र भरपर्दो ऊर्जाको आवश्यकता हुन्छ।
चीन पनि दक्षिण ध्रुवमै आधार बनाउने योजनामा छ, जहाँ पानी बरफ र अन्य स्रोत पाइन्छन्। चीन र रसिया सन् २०३५ सम्ममा संयुक्त रूपमा त्यहाँ रियाक्टर स्थापना गर्ने वार्तामा छन्। यसले अमेरिकी रक्षा मन्त्रालय, ऊर्जा विभाग र NASA का अधिकारीहरूलाई प्रत्यक्ष प्रतिस्पर्धामा उतारेको छ।
न्यू मेक्सिको विश्वविद्यालयका प्रोफेसर मोहम्मद एल-गेन्कका अनुसार, “अमेरिकामा जब बलियो प्रतिस्पर्धी हुन्छ, तब हामी उत्कृष्ट काम गर्छौं। ४० वर्षमा यस्तो अवस्था आएको छैन। तर यो सम्भव बनाउन धेरै कुरा मिलाउनुपर्नेछ।”