तीजको बदलिँदो परम्परा: दर, गीत र आजको नेपाली समाज
तीज भन्नासाथ तपाईँको दिमागमा के आउँछ? दर, माइती, नाचगान या अरु केही? मेरो दिमागमा भने गाउँ आउँछ। आमा, दिदी, हजुरआमाहरूको अनुहार आउँछ। अनि आउँछ घर छेउको चौपारीमा बसेर गाउँका आमाहरूले एकै लयमा गाएको गीत-
‘चौपारीमा बसूँ भने बरको पात फरर,
माइतीदेश हेरूँ भने मनै धरर…!’
आमाहरूले गाउने यी गीतहरू नै मनोरञ्जनका ठूला स्रोत थिए त्योबेला। र त हामी पनि आमाहरूजस्तै कुरेर बस्थ्यौँ तीज। नयाँ नाना लाउने दिन। मामा लिन आउने दिन। मावली जान पाउने दिन। हजुरआमाले पकाएको मीठो दर खान पाउने दिन…।
उसै पनि भदौ महिना उर्लँदो वर्षाले उस्तै उर्लिएका हुन्थे खहरे खोला पनि। हामी कामना गर्थ्यौँ – यस वर्ष पानी नपरोस्। हामी मावली जान पाइयोस्। घण्टौँ लगाएर हरिया काक्रा खाँदै मावली जान पाउनुको खुसी बेग्लै हुन्थ्यो। लाग्थ्यो, ‘दिन त यिनै रमाइला…।’ सधैँ काम र परिवारको जिम्मेवारीले थिचिएका हाम्रा आमाहरूका मुर्झाएका अनुहार पनि हर्षले खुलेका हुन्थे, आजकल बजारमा तीजलाई भनी सजिएका रङ्गीचङ्गी सजावटका सामग्री जस्तै।
सांस्कृतिक र परम्परागत स्वरूप
तीजलाई हिन्दू नेपाली महिलाहरूको एक महत्त्वपूर्ण चाडको रुपमा मानिन्छ, जसलाई धार्मिक पक्षमा व्रत, शिव-पार्वतीको आराधना र आत्मशुद्धिकरणसँग जोडेर पनि हेरिन्छ।
तीजलाई पूर्ण बनाउने महत्त्वपूर्ण कुरा पनि दर हो। व्रत अगाडि खाने विशेष भोजन- दर परिकार मात्र नभएर सामाजिक अनुभव र परम्परा पनि हो। जुन आफ्नो पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्छन्। जसले समाजमा सामूहिकताको भावलाई बढवा दिन प्रेरित गर्छ।
अरु दिन आफ्नै दैनिकी र अनेकन कामका उल्झनमा रहने महिलाका लागि आफ्नो मनको बह पोख्ने केवल तिनै दिनहरू हुन्थे, जहाँ उनीहरूले गीतका भाकामार्फत आफ्नो मनको बह पोख्थे दिदीबहिनी माझ। रमाउँथे र केही समयलाई नै भए पनि भुल्थे- आफ्नो मनको घाउँ। दरको नाउमा माइतीमा भएको मीठो मसिनो खान्थे त्यसमै रमाउथे। त्यही नै विशेष हुन्थ्यो उनीहरूका लागि। र त रमाउँदै भन्थे-
‘मलाई रमाइलो छ मेरै माइतीको गाउँ,
मलाई प्यारो छ मेरो बाबाको नाउ…’
दर र बदलिँदो परम्परा
पहिले दर धार्मिक अनुष्ठानसँग मात्र गाँसिएको मानिन्थ्यो- व्रत अगाडि शरीर बलियो बनाउने प्रयोजन, माइतीको घरमा रमाइलो गर्ने अवसर वा एक किसिमको सामाजिक दायित्व। तर अहिलेको तीज र दरले फरक अर्थ ग्रहण गरेको छ- आत्मअभिव्यक्ति, आपसी समवेदना र महिला सशक्तिकरणको साझा प्लेटफर्मका रूपमा।
आजको समाजमा महिलाको भूमिका केवल घरभित्र सीमित छैन। उनीहरू शिक्षादेखि प्रविधिसम्म, कार्यक्षेत्रदेखि नेतृत्वसम्म सक्रियरूपमा अगाडि बढिरहेका छन्। यस्तो परिवेशमा तीज र दरको अर्थ पनि परम्परागत सीमाबाट निस्कँदै, सामाजिक, सांस्कृतिक, आर्थिक र भावनात्मक रुपमा रूपान्तरित हुँदै गएको छ।
कामकाजी महिलाहरूले अब कार्यालय, सहकर्मी वा आफन्त दिदीबहिनीहरूसँग मिलेर दर खाने कार्यक्रम गर्छन्। यस्ता जमघटहरू अब केवल खानपानको अवसर मात्र हुँदैनन्, बरु अनुभव, भावना र विचारहरू आदान-प्रदान गर्ने सशक्त माध्यम बन्छन्। यसरी निर्मित अन्तरक्रियात्मक वातावरणले महिला बीचको समझदारी, सहकार्य र साझा उद्देश्यको सञ्जाल निर्माण गर्ने अभ्यासलाई प्रोत्साहन गर्छ।
बढ्दो विकृति र सांकृतिक चुनौति
समयसँगै तीजका नकारात्मक पक्ष पनि बढ्दै छन्। परम्परागत रूपमा महिलाहरूको भेटघाट, दु:ख-खुसी बाँडफाँट र सामूहिकतामा रमाउने चाडका रूपमा स्थापित भए पनि आधुनिक समयमा यसमा विभिन्न विकृतिहरू देखिन थालेका छन्। पहिलेको सादगीपूर्ण तीज आज महँगा कपडा, गरगहना, भोजभतेर र फोटोसेसनमा केन्द्रित भई उपभोगवादको चपेटामा परेको छ। मौलिक लोकभाका र मादलको सट्टा डिजे संस्कृतिले स्थान लिएको छ, जसले तीजको मौलिक सांस्कृतिक मूल्यलाई कमजोर बनाएको छ।
त्यसैगरी, तीजमा देखिने खर्चिलोपनले आर्थिक र सामाजिक असमानता अझ स्पष्ट बनाइदिएको छ। सम्पन्न वर्गले भड्किलो रुपमा रमाइलो गर्दा विपन्न वर्गले आफूलाई पछाडि परेको महसुस गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। यसरी तीज अब सांस्कृतिक चाड मात्र नभई सामाजिक विमर्शको विषय बन्न पुगेको छ। यसको सकारात्मक पक्षहरूलाई सुरक्षित राख्दै देखावटीपन, उपभोगवाद र मौलिकता हराउने प्रवृत्तिलाई सच्याउनुपर्ने खाँचो छ।
गीतहरू: वेदनाबाट न्याय र सशक्तिकरणको यात्रा
तीजका गीतहरू विगतमा घर-परिवारको पीडा पोख्ने माध्यम जस्ता थिए- प्रायः माइतीको याद, पतिका व्यवहार वा दैनिकीको दुःखलाई केन्द्रमा राखेर गाइने। ती व्यक्तिगत रोदनका भाका थिए, जहाँ महिलाहरूका मौन आर्तनादहरू लय र शब्दमा पोखिन्थे-
चौपारीमा बसूँभ ने बरको पात फरर…,!
हाम फालेर मरूँ कि त्रिशुलीको पानीमा…!
तर, समयसँगै ती गीतहरूको स्वर, सन्देश र उद्देश्यमा आमूल परिवर्तन आएको छ। आजका तीज गीतहरू केवल निजी भावनाको अभिव्यक्ति होइनन्, यिनीहरू समग्र समाजको संरचना, पितृसत्तात्मक सोच र राज्यप्रणालीमाथि प्रश्न उठाउने सशक्त सांगीतिक प्रतिरोधका रूपमा रूपान्तरित भएका छन्।
घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, आर्थिक निर्भरता, कार्यस्थलमा हुने लैंगिक भेदभाव, महिलामाथिको दोहोरो भार र सामाजिक असमानता जस्ता गम्भीर विषयवस्तुहरू तीजका गीतमार्फत अब खुलेर उठ्न थालेका छन्। यी गीतहरूले महिलाहरूलाई आफ्नो मौनता तोडेर निजी पीडालाई सार्वजनिक स्वरमा रूपान्तरण गर्ने सशक्त अवसर दिएका छन्- जहाँ उनीहरूले चाहना, दृष्टिकोण र प्रतिवादलाई लय र शब्दमा बदल्न थालेका छन्।
आज तीज एउटा सांस्कृतिक ‘पुनःलेखन’को अभियान बनेको छ, जहाँ महिलाहरूले परम्परागत धार्मिक कर्मकाण्डलाई आफ्नै अनुभूति र विचारले पुनर्व्याख्या गरिरहेका छन्। गाउँदेखि शहरसम्म, हरेक तहका महिलाहरू तीजलाई सामाजिक अन्यायविरुद्धको आवाज बनाउँदै लैंगिक समानताको माग, विभेद र हिंसाको विरोध र समग्र सामाजिक संरचना सुधार्न आ-आफ्नो ठाउँबाट आवाज उठाइरहेका छन्।
यद्यपि, सामाजिक सञ्जालमा व्याप्त ‘भाइरल’को प्रलोभनले कतिपय गीतहरू उछ्रिङ्खल र दोहोरो अर्थ लाग्ने खालका पनि छन्। जुन समाज र संस्कृतिका लागि हानिकारक हुन्। यसको विरोध गर्न जरुरी पनि छ।
आजको नेपाली समाजमा तीज: परम्परा र प्रतिरोधको संगम
बेलायती समाजशास्त्री एन्थोनी गिडेन्सको संरचनाकरण सिद्धान्तअनुसार, व्यक्ति वा समूहले समाजका विद्यमान संरचनाभित्र रहेरै ती संरचनालाई चुनौती दिन सक्छ। महिलाहरूले तीज पर्वमा प्रस्तुत गर्ने सांस्कृतिक अभिव्यक्तिहरू यसै सिद्धान्तको जीवन्त उदाहरण हुन्।
परम्परागत रूपमा तीज पितृसत्ता, व्रत, धर्म र पारिवारिक समर्पणसँग जोडिएको थियो। तर आज यो महिलाहरूको अनुभव, पीडा र सामाजिक प्रश्नहरूको अभिव्यक्तिको माध्यम बनेको छ। गीत-संगीतमार्फत उनीहरूले मौनता तोड्दै लैंगिक असमानता र सामाजिक अन्यायविरुद्ध आवाज उठाइरहेका छन्।
तीज अब केवल एउटा परम्परागत चाड होइन- यो चेतनाको जागरण, प्रतिरोधको स्वर र परिवर्तनको अभियान बनेको छ। महिलाहरू अब चुप लाग्ने पात्र मात्र होइनन्, सशक्त नेतृत्वकर्ताका रूपमा अगाडि आएका छन्, जो गीतमार्फत न्याय, समानता र अधिकारका स्वरहरू गुञ्जाइरहेका छन्।
सत्य हो- संख्या अझै न्यून छ। तर प्रतिनिधि महिला पात्रहरूको जीवन हेर्ने हो भने, अब महिलाले आफ्ना पीडा मात्र पोख्दैनन्। ओखती पनि खोज्छन्। र तीज जस्ता चाडमा आफ्नो सफलताका गाथा सुनाउन सक्छन्- ती सफलता जसमा संघर्ष, आत्मबल, शिक्षाको योगदान र दृढ आँट मिसिएको छ।
त्यसैले, तीजलाई नकारात्मक रूपमा चित्रण गरी यसको महत्त्वलाई ओझेल पार्नेभन्दा पनि, देखा परेका विकृति र कुसंस्कारलाई हटाउँदै यसको सामाजिक र सांस्कृतिक मूल्यलाई सुदृढ गर्न सकिए, महिलाको आत्मविश्वास, क्षमता र सक्रिय सहभागिता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यसरी तीजलाई वास्तविक अर्थमा जीवन्त राख्न सकिने मात्र नभई, समभाव, सहअस्तित्व र समतामूलक समाज निर्माण गर्ने आधारस्तम्भ पनि दृढतापूर्वक तयार गर्न सकिनेछ।